• २९ असोज २०८२, बुधबार

निकुञ्जभित्रको सडक वातावरणमैत्री बनाइने

blog

भरतपुरबाट माडीतर्फ जाने निकुञ्जभित्रको सडक । तस्बिर :शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असोज २९ गते । चितवनको माडी नगरपालिकातर्फ जाने निकुञ्जभित्रको मूल सडकको वातावरणमैत्री मर्मतसम्भारका लागि वन मन्त्रालयले अनुमति दिएको छ । माडी नगरपालिकाको जनप्रतिनिधि तथा युवा अगुवा र वन मन्त्रालयसहित सरकारका निकायबिच भएको छलफलपछि मर्मत गर्न सहमति दिएको हो । 

भदौमा भएको जेनजी समूहको आन्दोलनका व्रmममा नगरपालिका र स्थानीयले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रे गर्ने भन्दै काम अगाडि बढाएको थियो । माडी नगरपालिकाको कार्यपालिका बैठक बसेर बजेट निकासा गरी गरिएको सडक विस्तारको काम चितवन राष्ट्रिय निकुञ्जले केही दिनमा नै रोकेको थियो । 

आन्दोलनका व्रmममा भिडले गरेको काम वातावरणमैत्री नभएको र निकुञ्जले सडक विस्तार गर्न अनुमति नदिएको भन्दै थप काम गर्न रोकेको थियो । माडी जाने मूल बाटो निकुञ्जभित्र कच्ची भएका कारण समस्या भएको भन्दै नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, प्रदेश सभा सदस्य ठाकुर ढकालसहितको टोली ऊर्जा मन्त्रालय, वन मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायसँग छलफल गरी वार्तासमेत भएको थियो । 

वार्तापछि भएको सहमतिमा अहिले भइराखेको सडकमा वातावरणमैत्री मर्मत गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र रहेको माडी जाने बाटोमा समस्या भएमा मर्मत गरेर सवारीसाधन चलाउन दिने मात्र सहमति भएको उहाँले बताउनुभयो । 

वन्जन्तुको मुख्य वासस्थान भएको ठाउँमा वातावरणमैत्री मात्र काम गर्न छुट भएको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि, माडीका अगुवासँग भएको छलफलमा यही मात्र सहमति भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । 

माडी नगरपालिका प्रमुख महतोले निकुञ्जभित्रको सडक कच्ची भएका कारण दैनिक यात्रा गर्न ज्यादै कठिन भएको बताउनुभयो । “हामीले धेरै पहल गरेपछि माडीबाट निकुञ्जभित्र करिब चार किलोमिटर मोजाइक टायल राख्नका लागि अनुमति दिएको छ,” उहाँले भन्नुभयो, “वातावरणमैत्री सडक मर्मत गर्न भन्ने सहमति भएको छ, यसमा टायल हाल्न सकिनेसम्म अनुमति दिएको पाएका छौँ ।” नगरपालिकाको बजेटले चार किलोमिटरसम्म टायल राख्न सक्ने सामथ्र्य छैन । सङ्घ सरकारको सहयोग भएमा मात्र त्यो काम गर्न सकिन्छ, माडीका नगरप्रमुख महतोले भन्नुभयो, “भारी सवारीसाधन सञ्चालन गर्ने स्थानमा मोजाइक टायल कति प्रभावकारी हुन सक्छ, यसको अध्ययन गर्न थालेका छौँ ।”

वन मन्त्रालयमा भएको सहमतिमा सडक मर्मत गर्नको लागि सहजीकरण गर्न कार्यदल निर्माण भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक संयोजक रहने पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा हुलाकी सडक आयोजना प्रमुख, माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, माडी उपभोक्ताका तर्फबाट प्रवीण रेग्मी, पदमविलास पन्त, सन्तोष पनेरू, रामचन्द्र लम्साल र विकास ढकाल तथा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सदस्यसचिव रहने कार्यदल बनेको हो । 

वन मन्त्रालयमा भएको सहमतिमा निकुञ्जको वनकट्टादेखि देउरालीसम्म ब्लक (टायल) प्रयोग गरी धुलोरहित बाटो बनाउने, एक कार्यदल निर्माण गरी इआइएका बाँकी काम सक्ने, सडक विभाग (हुलाकी सडक) मार्फत बाँकी सडक मर्मत प्रव्रिmया अगाडि बढाउने, पुरानो बिजुलीको अन्डरग्राउन्ड केबुल तत्काल बदल्ने, हनुमानझुलामा विद्युतीकरण गर्नेलगायत रहेको छ ।