बाजुरा समाचारदाता
बाजुरा, असोज २९ गते । बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्र बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी बसपार्क अहिले बसको पर्खाइमा रहेको छ । विसं २०८१ फागुनदेखि २०८२ असारसम्म चल्ने गरेका लामो दुरीका बस मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीमै रोकिने गरेका छन् । यहाँको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउलीखोलाको पुल निर्माण नहुँदा मार्तडीमै बस रोकिने गरेपछि अहिले कोल्टी बसपार्क बसको पर्खाइमा रहेको हो ।
हिउँदको महिना घरबाटै बस चढ्ने गरे पनि अहिले बस मार्तडीमा रोकिएपछि पैदल हिँडेर बस चढ्न मार्तडी जानु परेको बुढीनन्दा नगरपालिका–२ का स्थानीय राधा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत माघमा एक पटक बस कोल्टीमा पुगेपछि अब गाउँबाट बस चढ्न पाइने भयो भन्दै खुसी लागेको थियो । अहिले सडक अवरुद्ध भएका कारण ती बस मार्तडीमै रोकिन थालेपछि आउजाउमा सास्ती भएको छ ।”
सडक गाउँमा पुगे पनि बस सञ्चालन नियमित नहुँदा स्थानीयलाई बर्खाको समयमा जसरी पहिला आउजाउमा सास्ती हुने गरेको थियो, अहिले पनि त्यस्तै सास्ती खेप्नु परेको कार्कीले बताउनुभयो । विसं २०७२ देखि मार्तडी, दानसाँघु हुँदै कोल्टीमा छोटो दुरीका सवारीसाधन जिप, ट्याक्टर सञ्चालनमा आए पनि बस भने गत वर्षदेखि चल्न थालेका हुन् । कोल्टीमा सडक सञ्चालन भएको झन्डै १० वर्ष भए पनि बस नियमित रूपमा सञ्चालन भएको छैन ।
बाजुराको त्रिवेणी, गौमूल, बडीमालिका, बुढीगङ्गा, खप्तड छेडेदहलगायतका स्थानीयलाई बेतालमाण्डौ, बाम्का, तिपाडा र मार्तडी बसपार्क सहज हुने भए पनि यहाँका स्थानीयलाई भने कोल्टीमा बसपार्क हुनुपर्ने अति आवश्यक रहेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय गिठे सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्थानीयलाई यातायातको सेवासुविधा पु¥याउन गत माघमा जिल्ला प्रशासन जनप्रतिनिधि र सरोकारवाला निकायको पहलमा कोल्टीमा बस सेवा सञ्चालन गरिए पनि त्यो लामो समय चल्न सकेन ।” मार्तडीदेखि कोल्टीको सडक निर्माण पूरा नभएकाले यो सडकमा बस सञ्चालन गर्न उपयुक्त नभएपछि कोल्टीमा बस सेवा सञ्चालनमा समस्या भएको बसमालिक रामचन्द्र गिरीले बताउनुभयो ।
मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर कालोपत्रे गर्न २३ करोड रुपियाँ बजेट छुट्याइएको छ । यसको ठेक्का धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले लिएको छ । अर्को चुथीदेखि ढम्कनेसम्म छ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएको छ ।