जीवछ यादव
लहान, असोज २९ गते । गत भदौ २४ गते लहानमा भएको जेनजी प्रदर्शनको क्रममा लहान नगरपालिकामा रहेका सरकारी कार्यालयहरुको भौतिक क्षति २६ करोडभन्दा बढी भएको छ । मङ्गलबार क्षति भएको कार्यालयहरुको अनुगमन गर्दा क्षतिको विवरण बाहिर आएको हो ।
लहान नगरपालिकाको अगुवाइमा इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, सशस्त्र प्रहरी वेस क्याम्फ लहान, जिल्ला ट्राफिक कार्यालय लहान र सञ्चारकर्मीहरुको संयुक्त टोलीले अनुगमन गरेका थिए ।
लहान नगरपालिकामा सात करोडभन्दा बढी ,घरेलु तथा साना उद्योग लहानमा २६ लाख, डिभिजन वन कार्यालय लहानमा ९५ लाख, राजश्व आन्तरिक कार्यालय लहानमा पाँच करोडभन्दा बढी, यातायात व्वयस्था कार्यालय लहानमा डेढ कारेड, नापी कार्यालय लहानमा एक करोड, खाद्य व्वयस्था तथा व्यापार केन्द्रमा दस करोड ९१ लाख, इलाका प्रशासन कार्यालय लहानमा पन्ध्र लाखको क्ष्ति भएको छ ।
क्षति भएका कार्यालयहरुमा तत्काल जनताको सेवा सुचारु गर्न लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले कम्प्युटर र फर्निचर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यालयका कम्प्युटर फर्निचर झ्याल ढोका सवारी साधन क्षति भएको छ । खाद्य व्यवस्था तथा व्यापार केन्द्र लहानबाट ३२ सय क्निन्टल चिनी र आठ हजार क्विन्टल चामल लुटेर लगेकामध्ये साढे तीन प्रतिशत फिर्ता भएको कार्यालय प्रमुख दिपक सुनारले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक कार्यालय अगाडि मुख्य सडकमा राखिएको अति महँगो सिसिटिभी क्याम्रा र कार्यालयको सम्पूर्ण भौतिक संरचना जलाएकोले एक करोड क्षति भएर कार्यालयको दैनिक कार्यमा समेत समस्या आएको पीडा प्रमुख सालिकराम तिमिल्सिनाले बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालय लहानमा २०६४ सालको मधेश आन्दोलनमा र जेनजी प्रर्दशनमा गरी दुई पटक आगजनी भएकाले कार्यालमा काम बसेर काम गर्ने अवस्था नरहेकाले कर्मचारी आवासमा बसेर नियमित काम सुरु गरिएको कार्यालय प्रमुख भीम काफ्लेले जानकारी दिनुभयो । नापी शाखामा नक्सा प्रिन्टर्स र सबै कागजात जलाइ दिएकाले किताकाटको काम गर्न अझै केहि दिन लाग्ने कार्यालय प्रमुख लालबाबु यादवले बताउनुभयो ।
लहान नगरपालिकाले दैनिक कार्य नगरपालिकाको सभा हलमा गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जानकारी दिनुभयो । उहाँको अनुसार लहान नगरपालिका भवनमा निर्माण कार्यहरु धमाधम भइरहेकाले छठपछि कार्यालयबाटै सेवा प्रवाह हुनेछ ।
यता सिरहाको १७ वटै पालिकाहरुमा गरेर एक अर्बभन्दा बढीको भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी चेतराज बरालले जानकारी गराउनुभयो ।