• २९ असोज २०८२, बुधबार

धार्मिक पर्यटकीय शहर बनाउन जुम्लामा पूर्वाधार निर्माण गरिँदै

blog

जुम्लाको बिच बजारमा निर्माण गरिएको गणेश मन्दिर । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), असोज २९ गते ।
जुम्लाको चन्दननाथ नगरपालिकालाई ऐतिहासिक धार्मिक पर्यटकीय शहर बनाउन पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरले चिनिएको जुम्लाको एकमात्र नगरपालिका चन्दननाथलाई पर्यटकीय शहर बनाउने प्रयास अघि बढेको छ ।

चन्दननाथ नगरपालिकाले आफ्नो आन्तरिक तथा बाह्य लगानी जुटाएर चन्दननाथ नगरपालिका भित्र धार्मिक पर्यटन पूर्वाधार निर्माण गर्दै आएको छ । केही समय अघिबाट बजारको पुरानै स्वरुप फर्काउन सिलेट ढुङ्गा बिछ्याउने काम सम्पन्न गरेको नगरपालिकाले हालै २० लाखभन्दा बढिको लगानीमा ऐतिहासिक गशेण मन्दिर निर्माण गरेको छ ।

ललितपुर महानगरपालिकाको २० लाख सहयोगमा चन्दननाथ नगरपालिकाले जुम्ला सदरमुकामको बिच बजारमा कलात्मक गणेश मन्दिर निर्माण गरेको हो । नवनिर्मित मन्दिरको मङ्गलबार विधिवत पूजाआजा गरी उद्घाटन गरिएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनद्वारा उक्त मन्दिरको उद्घाटन गरिएको हो ।

चन्दनाथ नगरपालिका र ललितपुर महानगर पालिकाको भगेनी सम्बन्ध रहेको र चन्दननाथलाई पर्यटन शहर बनाउने योजना अनुरुप महानगरले २० लाख सहयोग गरेको थियो । सोही बजेटबाट उपभोक्ता समिति मार्फत ऐतिहासिक कलात्मक गणेश मन्दिर निर्माण गरिएको हो ।

भाषा र संस्कृतिको जननी जुम्ला त्यसमा पनि ऐतिहासिक चन्दननाथ नगरपालिकालाई पर्यटकीय शहर बनाउन महानगर सधैँ सहयोग गर्ने ललितपुर महानगरका प्रमुख महर्जनले बताउनुभयो ।

मन्दिरका उद्घाटनका लागि जुम्ला पुग्नु भएका प्रमुख महर्जनले ललितपुर र भक्तपुर तिर बनेकै जस्तो कलात्मक मन्दिर जुम्लामा बनेको बताउनुभयो । प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरसँगै गणेश मन्दिरले पनि पर्यटकलाई आर्कषण गर्ने अपेक्षा छ ।

साथै सिमित स्रोत साधनका बिच चन्दननाथ नगरपालिकाले पूर्वाधार विकास, पर्यटन प्रर्बद्धन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभएको छ ।

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चन्दननाथमा धार्मिक पर्यटनको सम्भावना प्रचुर रहेपनि लगानी बढाउन नसकेको बताउनु भयो । जुम्ला बजारमा आउने पर्यटकलाई आर्कषित गर्ने खालको पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख गर्नुभयो । ललितपुरबाटै शिल्पकारहरु ल्याएर आर्कषण कलात्मक मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार साढे चार महिना लगाएर मन्दिर निर्माण गरिएको छ । जुम्लाकै ढुङ्गा कुदेर गणेश भगवानको मुर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि २० लाख विनियोजन गरिएपनि काम करिब २२ लाख बराबर भएको छ । यद्यपी नगरपालिकाले २० लाखनै भुक्तानी दिने भनेको छ । भुक्तानी हुन बाँकीनै छ ।

जुम्ला सदरमुकाम खलङ्गाको मुख्य बजारमा निर्माण गरिएको कलात्मक गणेश मन्दिरले बजारको सुन्दरतालाई थप बढाएको छ । जेनजी आन्दोलन पछि दसैँ बिदाले भुक्तानी नभएको र अबको केही दिनमा मन्दिर निर्माणको सबै भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताउनुभयो ।

चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले कर्णाली प्रदेश राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहरका रुपमा रहेको खलङ्गा बजारलाई पर्यटक भित्र्याउन स्रोतले भ्याएसम्म पर्यटनमा लगानी बढाएको बताउनुभयो । उहाँका अनुसार एतिहासिक मन्दिरसँगै यसै वर्षमा बसपार्क नजिक स्याउ चोक समेत निर्माण गरिएको छ ।

जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरेको छ । प्रसिद्व चन्दननाथ भैरबनाथ मन्दिरले प्रख्यात जुम्लामा धार्मिक पर्यटन प्रवर्धनमा गणेश मन्दिर निर्माणले थप टेवा पुर्याउने स्थानीय भक्तजनको विश्वास छ ।