• २९ असोज २०८२, बुधबार

ऊर्जा दक्षता प्रवर्धन गर्ने उद्योगलाई अनुदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २९ गते । नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजना अन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रममा सफलतापूर्वक ऊर्जा दक्षताका उपाय लागु गरेका दोस्रो चरणका उद्योगलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक अनुदान वितरण गरेको छ । 

युरोपेली सङ्घ तथा जर्मन सरकारको सहआर्थिक सहयोगमा, रिप–ग्रिन परियोजना अन्तर्गत सञ्चालन भइरहेको यस अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षताका पहल कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा १३ उद्योगलाई चार करोड रुपियाँभन्दा बढीको अनुदान प्रदान गरियो । विस्तृत ऊर्जा परीक्षणमार्फत पहिचान गरिएका ऊर्जा बचत उपायको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ । त्यस्ता उपायबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक चार करोड ७७ लाख ५८ हजार रुपियाँभन्दा बढी खर्च कटौतीमा योगदान पु¥याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने बताइएको छ ।

अनुदान पाउने उद्योगमा कृषि प्रशोधन, औषधी र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योग छन् । सबैभन्दा बढी एक करोड रुपियाँ एजी हेल्थ इन्डस्ट्रिज प्रालिले पाएको छ । उक्त उद्योगले म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन गरेको छ । कम्पनीको चार करोड रुपियाँभन्दा बढीको लगानीबाट वार्षिक एक करोड रुपियाँभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ ।

अर्को अनुदान सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिले पाएको छ । प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत यस्तो पहलले उद्योगलाई वास्तविक क्रियाकलापतर्फ लैजान सहयोग पु¥याउने बताउनुभयो । 

एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा. पङ्कज तिवारीले ऊर्जा परीक्षण प्रक्रियामा ऊर्जाको अधिकतम प्रयोग गर्ने नयाँ तरिका र अन्तर्राष्ट्रिय सुरक्षा तथा मापदण्डको पालना गरिएको उल्लेख गर्नुभयो ।

युरोपेली सङ्घका रञ्जन प्रकाश श्रेष्ठले परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षतासम्बन्धी प्रयासलाई निरन्तरता दिन प्रेरित गरेको बताउनुभयो । 

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राष्ट्रिय प्रयासमा योगदान पु¥याएकामा उद्योगको प्रशंसा गर्दै यस किसिमको सहयोगबाट नेपालको ऊर्जा भविष्यमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।