टोपलाल अर्याल
रेसुंगा(गुल्मी), असोज २९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो ।
जसमा तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउने, देउसीभैलो खेल्दा परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै अनुशासित रुपमा राति १० बजे सम्म मात्र खेल्ने र खेलाउने, भुईचम्पा, पटका, आतिसवाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्ने उल्लेख छ ।
त्यस्तै जुवा र तास खेल्ने र खेलाउने कार्य नगर्न तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियाकलाप नगर्न प्रशासनको तर्फबाट आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।
गैरेले कोही कसैले उल्लेखित नियमहरुको पालना नगरी कानुनको बर्खिलाप हुने गरी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।