धनगढी समाचारदाता
धनगढी, असोज २९ गते । दुई वर्षसम्म छोरा फर्कने आसमा बिताएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित बिचपुरी मल्लिकार्जुन टोलमा बस्दै आएको विपिन जोशीको परिवार शोकमा डुबेको छ ।
सोमबार अपराह्नसम्म विपिन जीवितै रहेको हुन सक्ने आशा गरेर बसेका जोशी परिवार हमासले सोमबार इजरायली सुरक्षा फोर्सलाई हस्तान्तरण गरेको चार जनाको शवमध्ये एक विपिनको पुष्टि भएको समाचारपछि शोकाकुल बनेको हो । सोमबार हमासले इजरायली पक्षलाई हस्तान्तरण गरेको शवको फरेन्सिक जाँचपछि विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । इजरायलको नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनको परीक्षण प्रतिवेदन अनुसार बन्धक अवस्थामा सन् २०२३ को अन्त्यतिरै विपिनको हत्या भएको इजरायली पक्षको दाबी छ ।
कृषिविज्ञ बन्ने सपना बोकेर विसं २०८० भदौमा इजरायल उड्नुभएका विपिनलाई सधैँका लागि गुमाएपछि जोशी परिवारमा सन्नाटा छाएको छ । विपिनका दाजु ठुलोबुबाका छोराले दुई वर्षदेखिको आशा अब शोकमा बदलिएको बताउनुभयो । गोरखापत्रसँग छोटो कुराकानीमा उहाँले भन्नुभयो, “हामी समालिन सकिरहेका छैनौँ ।” अमेरिकामा रहेका विपिनका आमा र बहिनी बिहीबार अमेरिकाबाट फर्कंदै हुनुहुन्छ ।
यतिबेला घरमा विपिनका बुबा महानन्द जोशी मात्रै बसिरहनुभएको छ । इजरायली पक्षले सोमबार बिहान भिडियो कन्फ्रेन्समार्फत इजरायलस्थित नेपाली राजदूत, विपिनकी बहिनी पुष्पा र दाजु किशोरलाई विपिनको मृत्यु भएको खबर प्राप्त भएको जानकारी गराएको थियो ।
शव नेपाल पठाउने प्रक्रिया सुरु
यसैबिच परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै हमास समूहले रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी महानिर्देशक इडेन बार तालसँगको टेलिफोन संवादमा यस्तो जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विपिन जोशीको मृत्युको खबरले स्तब्ध भएका उल्लेख गर्दै भनिएको छ “विपिन जोशीको शव नेपाल ल्याइसकेपछि पनि उहाँको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउने, न्याय दिलाउने र उहाँको परिवारले पाउने सामाजिक सुरक्षा क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राखिने छ ।’’