• २९ असोज २०८२, बुधबार

मेलम्चीको कागजपत्र अख्तियारको नियन्त्रणमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ । आयोजनाका लागि आवश्यक डक्टाइल आइरन (डिआई) पाइप खरिदमा अनियमितता गरेको आशङ्कामा आयोगले छापा मारेको हो । आयोजनाका कर्मचारीले उक्त पाइप खरिद गरेर हिनामिना गरेको उजुरीका आधारमा छापा मारिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता राजेन्द्र पौडेलले पाइप खरिदसम्बन्धी केही कागजपत्र पनि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मङ्गलबार अलि ढिलो भएका कारण सबै कागजपत्रको अध्ययन गर्न भ्याइएन । वास्तविकता के हो भन्ने कुरा थप अध्ययनपछि मात्रै थाहा होला ।”

यसै गरी मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । काभ्रेपलाञ्चोकको साबिक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएका जग्गाधनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको अवस्थामा भण्डारीलाई यसअघि नै आयोगले नियन्त्रणमा लिएको थियो । 

आयोगको कार्यालय काठमाडौँ टङ्गालबाट खटिएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । भण्डारीलाई दुई लाख रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।