काठमाडौँ, असोज २८ गते । एसियाली इलेक्ट्रोनिक खेलकुद महासङ्घ (एइएसएफ)ले थाइल्यान्डको बैंककमा दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
सो साधारण सभामा एइएफएसका ३५ सदस्य सङ्घको सहभागिता रहेको थियो । जसमा नेपाल इस्पोर्ट्स सङ्घ (नेसा)को पनि सहभागिता रहेको थियो । नेपाल इस्पोर्ट्स सङ्घका अध्यक्ष सुरज डङ्गोलले नेपालको प्रतिनधित्व गर्नुभएको हो ।
सन् २०२५ अप्रिलमा निर्वाचित अध्यक्ष सान्ती लोथोङले सबै सदस्य सङ्घलाई स्वागत गर्दै नवनिर्वाचित कार्यसमितिका सदस्यलाई परिचय गराउनुभएको थियो ।
सो अवसरमा अध्यक्ष लोथोङले सबैलाई एकजुट गरी समर्पित भएर एसियन इस्पोर्ट्सको प्रवृधन गर्ने प्रतिबद्धता जनाउनुभयो । लोथाङको कार्यसमितिको कार्यकाल चार वर्षको ५ ।
सो सभाका प्रमुख अतिथि एआइएमएसका अध्यक्ष स्टेफन फक्सले खेलकुदको विकासमा ओलम्पिक आन्दोलनको महत्वलाई प्रकाश पार्नुभयो ।
यस्तै एइएसएफका मानार्थ अध्यक्ष केनेथ फोकले भिडियो सन्देशमार्फत लोथोङको नेतृत्वमा आफूलाई विश्वास छ भन्दै आफ्नो समर्थनसहित नयाँ बोर्ड सदस्यहरूलाई बधाई दिनुभयो ।
एइएसएफका महासचिव स्टिभ किमले २०२५–२०२९ कार्यकालका लागि एइएसएफको आगामी योजना, लक्ष्य र रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा एइएसएफ र युरोपियन इस्पोर्ट्स महासङ्घबिच नयाँ साझेदारी पनि स्थापित भएको छ । यसअघि एइएसएफले युएस इस्पोर्ट्स महासङ्घ र कोलम्बिया इस्पोर्ट्स महासङ्घसँग पनि साझेदारी सम्झौता गरिसकेको थियो । यी सम्झौताअनुसार एइएसएफले एसियाबाहिर पनि आफ्नो संलग्नता र सहकार्य विस्तार गर्नेछ ।
सो अवसरमा एइएसएफले भियतनामममा सन् २०२६ मा एसियन इस्पोर्ट्स गेम्स आयोजनाका लागि भियतनाम रिक्रियसनल एन्ड इलेक्ट्रोनिक स्पोर्ट्स एसोसिएसनसँग पनि सम्झौता आनदाप्रदान गरेको थियो ।
सो सभामा इस्पोर्ट्सको सहभागिता रहने प्रमुख खेल मेलाहरु तेस्रो एसियन यथ गेम्स (बहराइन), ३३औँ दक्षिणपूर्वी एसियन गेम्स (थाइल्यान्ड) र २० औँ एसियाल खेलकुद (जापान, आइची नागोया) बारे पनि जानकारी दिइएको थियो ।