• २८ असोज २०८२, मङ्गलबार

अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी

blog

आन्दोलनरत कर्मचारीहरू पालिकाको मुल गेटमा तालाबन्दी गरी धर्नामा । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), असोज २८ गते । अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले गाउँपालिका र वडा कार्यालयहरूमा मङ्गलबार तालाबन्दी गरेका छन् ।

तलब भत्ताको माग गर्दै आइतबारदेखि आन्दोलित रहेका शिक्षक, स्वास्थ्यकर्मीहरूले पालिकाको अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, पालिकाको विभिन्न शाखा तथा कार्यालयको मूल गेट र ६ वटै वडा कार्यालयमा तालाबन्दी गरेर पालिकाको मुल गेटमै धर्नामा बसेका छन् ।

कार्यालयमा तालाबन्दी गरी कार्यालयको गेटमै शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी धर्नामा बसेपछि कार्यालयको सेवा पूर्णरूपले प्रभावित भएको छ । सेवाग्राही मारमा परेका छन् ।

तलब भत्ताको माग गर्दै पटकपटक पालिकालाई ध्यानाकर्षण गर्दा समेत वास्ता नगरेपछि बाध्य भएर पालिका र मातहतका वडा कार्यालयहरूमा तालाबन्दी गरेर धर्नामा बस्न बाध्य हुनुपरेको मा.वि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "तलब पाउने सुनिश्चित नभएसम्म तालाबन्दी तथा हाम्रो आन्दोलन जारी रहनेछ ।"

तिहारसम्म पनि तलब भत्ता उपलब्ध हुन सकेन भने अत्यावश्यक सेवा बाहेक यस पालिकाका मातहतका विद्यालय, स्वास्थ्य शाखाहरू तथा कार्यालयहरू छठपछि पूर्णरूपमा बन्द गर्ने उहाँले बताउनुभयो । उहाँहरू गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आइतबारदेखि आन्दोलित भएका हुन् ।