• २७ असोज २०८२, सोमबार

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

blog

मेक्सिको सिटी, असोज २७ गते । मेक्सिकोमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ । मेक्सिकन अधिकारीले विशेष गरी पहाडी क्षेत्र, हिमशृङ्खलालगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मी राहत वितरणका लागि हरसम्भव प्रयास गरिरहेको जनाएका छन् ।  

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाउनुभएको छ । फसेका बासिन्दालाई उद्धार गर्न र प्रभावित समुदायमा खाना पुर्‍याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ । मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतिको भारी वर्षाको अनुभव गर्नुका साथै राजधानी मेक्सिको सिटीमा अहिलेसम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।

अधिकारीले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेका छन् । आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यमा क्षति पुर्‍याइरहेको जनाएका छन् । रासस/क्यूएनए