• २७ असोज २०८२, सोमबार

कैलालीका किसानलाई धान भित्र्याउन चटारो

blog

काटेको धान स्याहार्दै किसान ।

अविनाश चौधरी

धनगढी, असोज २७ गते । कैलालीका किसानहरु धान भित्र्याउनमा व्यस्त छन् । दसैँ सकिएपछि किसानलाई धान भित्र्याउन चटारो भएको हो । 

किसानहरुलाई धान काट्न, थ्रेसिङ गर्न भ्याइनभ्याई भएको छ । दसैँको बेला नै धान पाकेर खेत पहेँलपुर बनेको थियो । तर दसैँलगत्तै पानी परेपछि केही दिन धान भित्र्याउन समस्या भएको किसानहरु बताउँछन् । अहिले मौसमले साथ दिएपछि धान काट्ने, भित्र्याउने काम धमाधम गरिरहेको कैलारी गाउँपालिका –८ का कृषक पतिराम चौधरीले बताउनुभयो । 

“हाइब्रेड धान त बढी पाकेर झर्न थालेको छ” उहाँले भन्नुभयो, “दसैँलगत्तै पानी परेका कारण चाँडै भित्र्याउन सकिएन । अब धमाधम धान काट्ने काम भइरहेको छ ।” नेपालमा जुन १३ मा मनसुन प्रवेश भई अक्टोबर २ तारेखमा बाहिरिने गर्दछ ।

यसवर्ष सरदर मितिभन्दा १५ दिन अघि नै जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन सुदूरपश्चिमबाट अक्टोबर ८ तारेखमा मात्र बाहिरिएको थियो । मनसुन बाहिरिए लगत्तै पोष्ट मनसुन अवधि सुरु भई पश्चिमी र स्थानीय वायुको सक्रियताले पानी परेपछि किसानलाई धान भित्र्याउन समस्या भएको थियो । 

अब मौसममा सुधार भएको र तत्काल पानी पर्ने सम्भावना नरहेकाले किसानलाई धान भित्र्याउन सहज हुने जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले बताउनुभयो । 

मनसुन ढिलोगरी बाहिरिएका कारण धान पाकेको खेतमा अझै पानी जमेको किसानले बताएका छन् । पानी जमेकाले धान भित्र्याउन अझै सकस रहेको उनीहरुको भनाइ छ । काटेको धान बोकेर उकालो ठाउँमा थ्रेसिङ गर्ने गरेको उनीहरुको भनाइ छ । पानी जमेकै कारण रिपरबाट धान काट्न समस्या भएपछि कम्बाइन हार्भेस्टर मेसिनले धान कटाएको कैलारी गाउँपालिका –७ का कृषक श्याम चौधरीले बताउनुभयो । 

अन्न भण्डार मानिने कैलालीमा ९१ हजार हेक्टर कृषियोग्य जमिन छ । जसमध्ये यसवर्ष ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष यहाँ प्रतिहेक्टरमा ३.४ मेट्रिक टनको दरले धान फलेको थियो । यसवर्ष उत्पादन केही बढ्ने सम्भावना रहेको टेक विष्टले बताउनुभयो ।