• १३ असोज २०८१, आइतबार

‘सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्छ’

blog

तस्बिर सौजन्य : सिबिफिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बिहीबार सुझाव प्रतिवेदन प्रस्तुत गर्दै बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को प्रतिनिधि ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान चुनौतीको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनले औँल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनीकरण तथा आयात प्रतिस्थापनका उपाय र निर्यातजन्य वस्तु, लगानीका लागि पुँजी निर्माण तथा परिचालन जस्ता विषयमा विशेष जिज्ञासासमेत उहाँले राख्नुभएको थियो ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आ.व. २०७९÷८० का लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैङ्कले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमबारे प्रधानमन्त्री देउवालाई विस्तृत जानकारी गराएको थियो ।

भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैङ्कर्सहरूको सहकार्यमा अध्ययन गरी तयार गरेको बैङ्क तथा वित्तीय संस्थाका अप्ठ्यारा र चुनौती तथा सम्बोधनका लागि सुझावहरू, २०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरू,२०७८ र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैङ्क तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा पारेको प्रभाव २०७९ लगायतका सुझावसहितका प्रतिवदेनहरू प्रधानमन्त्रीलाई बुझाएको थियो ।

सो अवसरमा राज्यमन्त्री उमेश श्रेष्ठ तथा सिबिफिनको प्रतिनिधि मण्डलमा उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव  कुशकुमार मल्ली, महानिर्देशक गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो ।