• २७ असोज २०८२, सोमबार

टासी ल्हाजोममाथिको आरोप आधारहीन : आदिवासी जेनजी समूह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २६ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आदिवासी जेनजी समूहको तर्फबाट मन्त्रीमा सिफारिस हुनुभएकी टासी ल्हाजोम तामाङको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा गरिएको गलत प्रचारप्रति आदिवासी जेनजी समूहले आपत्ति जनाएको छ । 

जेनजी आदिवासी समूहले विज्ञप्ति जारी गर्दै आदिवासीलाई बदनाम गर्नेगरी कुप्रचार गर्नु गलत भएको भन्दै प्रतिरक्षा गरेको छ । हुम्ला निवासी ल्हाजोमले हिमाली क्षेत्रमा रहेर नेपालको जलवायु परिवर्तनसम्बन्धी संवेदनशील विषयमा वृत्तचित्र एवम् श्रव्यदृश्यमार्फत भूमिका निर्वाह गर्दै आउनुभएकी ल्हाजोममाथि आधारहीन आरोप लगाइनु गलत भएको भनिएको छ । 

नेपाली नागरिकलाई विदेशी नागरिकजस्तो आधारहीन आरोप लगाइनु कुनै पनि अर्थमा सत्य र तथ्य नभएको बताउँदै आदिवासी जेनजी समूहले सो आरोपको खण्डन गरेको छ । त्यस्तो गलत कुप्रचार नगर्न पनि सबैमा आग्रह गरेको छ । 

हुम्ला स्थायी निवासी लाक्पा छिरिङ तामाङकी छोरी ल्हाजोम जिल्ला प्रशासन कार्यालय हुम्लाबाट नागरिकता प्राप्त आदिवासी समुदायकी चेली हुनुहुन्छ भन्ने नागरिकता प्रमाणपत्रले देखाउँछ । उहाँको नागरिकता नम्बर ५९–०१–७४–०१०४२ रहेको देखिन्छ । 

२०५६ कात्तिक २९ गते हुम्लामा जन्मनुभएकी ल्हाजोमलाई जेनजी आदिवासी समूहबाट मन्त्रीमा सिफारिस गरेको सूचना बाहिर आएपछि उहाँविरुद्ध आधारहीन आरोप लगाइएको जेनजी आदिवासी समूहका नेतृत्वहरुको भनाइ छ । समूहकी नेतृत्वकर्ता सबनम लामाले ल्हाजोममाथि लगाइएको आरोप आधारहीन रहेको बताउनुभयो । समूहको तर्फबाट त्यसको विरोध गरिसकिएको भन्दै उहाँले सञ्चार माध्यमले सत्यतथ्य कुरा बुझेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको सुझाव छ ।

नागरिकता प्रमाणपत्रअनुसार ल्हाजोमले २०७४ माघ ७ गते नागरिकता लिएको देखिन्छ । हुम्लाका स्थानीय जीवन शाहीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “उनी एक देशभक्त लिमी हल्जी गाउँका साहु कुतु तामाङकी नातिनी हुन् । हुम्लामा हाम्रो बस्ती जति पुरानो हो, उनको पनि त्यति नै पुरानो हो । आज पनि उनको बुवाले गाउँ छाडेका छैनन् ।”

जेनजी आदिवासी समूहकी सामना लावतीले ल्हाजोममाथि अनावश्यक आरोप लगाएर आदिवासीको बदनाम गर्ने प्रयास भएको बताउनुभयो । आदिवासी समुदायले अवसर पाउने बेलामा यस्तो गलत आरोप लगाएर बदनाम गर्ने विषय असह्य भएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र केही मिडियामा आएको सूचना र समाचार तथ्यहीन भएको उहाँले दाबी गर्नुभयो ।