• ३० वैशाख २०८१, आइतबार

मदन भण्डारी मार्ग सञ्चालनमा

blog

गाईघाट समाचारदाता

गाईघाट, असार १७ गते । उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मङ्गलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ। अविरल वर्षासँगै सडकभन्दा माथिबाट आएको पहिरोले सो मार्गको गाईघाट–कटारीखण्ड अवरुद्ध भएको थियो । 

सडक अवरुद्ध भएसँगै गाईघाट–कटारी खण्डमा यातायात बन्द भएकोमा आयोजना कार्यालय र त्रियुगा नगरपालिकासमेतको दुईवटा स्काभेटरले करिब २० घण्टाको प्रयासमा पहिरो पन्छाउन सफल भएपछि एकतर्फी रूपमा सडक खुलाउने काम भएको मदन भण्डारी राजमार्ग सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ । सो आयोजनाले सडकमा खसेको पहिरो हटाउँदा माथिबाट पहिरो झर्ने जोखिम रहेकाले थप क्षति नहुनेगरी सडकको अवरोध हटाउन स्काभेटरलगायतका मेसिन प्रयोग गरेर काम गरेको तर खतरा अझै कायमै रहेको आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । 

सरकारले राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना भनी नामकरण गरी ठूलो रकम लगानी गरेर सडक निर्माण गरेको तर सो अनुसारको दायाँबायाँ र तलमाथिका मोडहरू सुधार नगरिँदा वर्षाको समयमा दर्जनौँ  स्थानमा पहिरोले सडक अवरुद्ध हुने खतरा कायमै रहेको सो योजनामासमेत काम गर्दै आउनुभएका गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताउनुभयो ।