• २४ असोज २०८२, शुक्रबार

फिक्कल–नयाँबजार सडक सञ्चालन

blog

सडक खुलाउँदै स्काभेटर ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असोज २४ गते । असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ । 

मयूखोलाको पानी फिजाएसँगै खोलामाथिको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउँसोबाट यातायत सञ्चालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो । 

बाढीले मयूखोलाको कल्भर्ट बगाएको थियो भने खोलामाथिको सडक पहिरोले क्षतिग्रस्त बनाएको थियो । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको ५०–५० प्रतिशत लगानीमा सडक खोल्ने काम भएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । 

अस्थाई रुपमा खोलाको पानी फिजाउने र नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि  सडक अस्थाई रुपमा सञ्चालनमा आएको सूर्योदय नगरपालिकाका वन वातावरण तथा बिपद ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका वडा नं. १ का नागरिकलाई सहज भएको छ । उक्त क्षेत्रमा कोशी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी, पूर्व मुख्यमन्त्री उद्धव थापासहितको प्राविधिक टिमले मयूखोला, फिक्कल नयाँबजार सडक र फिक्कल खानेपानीको क्षतिबारे स्थलगत निरीक्षण गरेको थियो । 

निरीक्षणपछि प्रदेश सरकारले मयूखोलामा एक साताभित्रमा अस्थाई पुल निर्माण गर्ने र क्षतिग्रस्त सडक सञ्चालन गर्ने भएको मन्त्री राईले जानकारी दिनुभयो । उक्त सडक सञ्चालन गर्न सूर्योदयका नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई लगायतको जनप्रतिनिधि र कर्मचारीले २१ गतेदेखि पहल थाल्नु भएको थियो । 

उक्त सडकमा पक्की पुल निर्माणका लागि कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री खिनु लङ्वा लिम्बु, प्रदेश सांसद बन्दना अधिकारी (खगेश्वरी) ले समेत पहल गर्दै आउनु भएको छ । 

उक्त खोलामा प्रदेश सरकारको लागानीमा पक्की पुल निर्माण गरिनेछ । फिक्कल नयाँबजार सडक समेत प्रदेश सरकारकै लगानीमा कालोपत्रे भएको थियो । यसैबिच बाढी पहिरोले क्षति गरेपछि सडक सम्पर्क टुटेको देउमाई नगरपालिकाले इलाम सम्म सडक सञ्चालनमा ल्याइएको छ । 

यस्तै सन्दकपुर गाउँपालिकाले पनि सदरमुकाम जोडिने सडक सञ्चालनको अवस्थामा छ । क्षतिभएका ठाउँमा पालिकासहित नेपाली सेना र शसस्त्र प्रहरीले सडक खोल्ने काम गरिरहेका छन् । मेची राजमार्गको राजदुवालीमा नयाँ ट्रयाक खोलेर सवारी सञ्चालन गर्न भइरहेको  सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।