रबात (मोरक्को), असोज २४ गते । मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नु भएको छ । देशका प्रमुख सहरमा जारी व्यापक प्रदर्शनले सरकारको खर्च प्राथमिकता र शासनप्रति प्रश्न उठाइरहेकाले यस वर्षको सम्बोधन सामान्य वार्षिक परम्पराभन्दा धेरै उच्च राजनीतिक जोखिमसहितको हुने अनुमान गरिएको छ ।
देशको सर्वोच्च अधिकार सम्पन्न शासक मानिनुहुने राजा मोहम्मद छैटौँले सामान्यतया जनतालाई कमै सम्बोधन गर्नुहुन्छ र अन्तर्राष्ट्रिय मामिलामा प्रायः मन्त्रीहरू वा शाही परिवारका सदस्यलाई प्रतिनिधित्व गर्न पठाउनुहुन्छ । दशकौँअघि ‘गरिबको राजा’ भनेर चिनिनु भएका उहाँ अहिले भने सुस्त विकास, बढ्दो असमानता र आर्थिक विभाजनका कारण नागरिकहरूमा फैलिएको असन्तुष्टिको केन्द्रमा हुनुहुन्छ ।
सेप्टेम्बर २७ देखि देशभर फैलिएको प्रदर्शनमा हजारौँ युवा सडकमा उत्रिएका छन् । उनीहरूले सरकारको ध्यान सार्वजनिक सेवाभन्दा बढी सन् २०३० फिफा विश्वकपका तयारीमा अर्बौं डलर खर्च गर्नमा केन्द्रित भएको भन्दै आपत्ति जनाइरहेका छन् । ‘जेन जेड २१२’ नामक युवा नेतृत्वको आन्दोलनले नयाँ स्टेडियम निर्माण र उपेक्षित विद्यालय तथा अस्पतालबिचको असन्तुलनलाई औँल्याउँदै सन् २०११ को अरब वसन्तपछि पहिलोपटक यति ठूलो स्तरको राष्ट्रिय आन्दोलन खडा गरेको छ ।
प्रदर्शनका नारा स्पष्ट छन्, ‘जनताले राजाको हस्तक्षेप चाहन्छ ।’ राजा मोहम्मद छैटौँले यसअघि असमानताले भरिएको ‘दुई–गति राष्ट्र’ (टु स्पिड कन्ट्री) स्वीकार गर्न नसक्ने बताउनुभएको थियो । उहाँले गत जुलाईमा तटीय सहर तेतुआनमा आयोजित एक भाषणमा भन्नुभएको थियो, “आर्थिक विकास र पूर्वाधार निर्माण जति भए पनि ती उपलब्धिले सबै वर्ग र क्षेत्रका नागरिकको जीवनस्तरमा ठोस सुधार ल्याएमा मात्र म सन्तुष्ट हुनेछु ।”
यस पटकको सम्बोधन जनआन्दोलनको चर्को अवस्थामा भइरहेको छ । प्रदर्शनकारीले राजदरबारमा सिधै मागपत्र पठाउँदै प्रधानमन्त्री अजिज अखानोच र उहाँको सरकारलाई बर्खास्त गर्न, राजनीतिक बन्दीको रिहाइ र भ्रष्ट राजनीतिज्ञहरूलाई कानूनी जवाफदेही बनाउने माग गरेका छन् । “हामी, मोरक्कोका युवा, महामहिमको हस्तक्षेपमार्फत अधिकार पुनःस्थापना र भ्रष्टाचारविरुद्ध न्यायपूर्ण सुधारको माग गर्दै छौँ,” आन्दोलनको पत्रमा लेखिएको छ ।
उक्त पत्रले राजाको समस्या समाधान गर्ने क्षमतामा गहिरो विश्वास व्यक्त गरे पनि राजाको प्रत्यक्ष आलोचना अझै वर्जित रहेको वास्तविकतालाई पनि उजागर गरेको छ । राजालाई सिधै अपिल गर्नु मोरक्कोली राजनीतिक संस्कृतिमा दुर्लभ कदम हो, जसले उहाँलाई राजनीतिभन्दा माथि राख्ने परम्परालाई चुनौती दिएको छ । यदि मागहरू पूरा भएनन् भने जिम्मेवारी कसको हुने छ भन्ने प्रश्नले अब देशभर बहस निम्त्याएको छ ।
“जनताले ‘राजा दीर्घायु हुनुहोस्’ भन्दै सम्मान देखाइरहेका छन्, तर उनीहरूले शक्तिको वास्तविक स्रोत पनि दरबारमै छ भनेर इङ्गित गरिरहेका छन्”, अमेरिकी ड्युक विश्वविद्यालयका राजनीतिक विश्लेषक अब्देसलाम मघ्रौईले टिप्पणी गर्नुभयो । यसैबिच ६० जना वरिष्ठ बुद्धिजीवी, कार्यकर्ता र असन्तुष्ट नागरिकले जारी गरेको अर्को खुला पत्रले युवाको मागलाई थप बल दिएको छ । उक्त पत्रमा राजा मोहम्मद छैटौँलाई ‘मोरक्कोमा कार्यकारी शक्तिको साँचो स्रोत’ भन्दै प्रधानमन्त्री मात्र नभई देशलाई हल्लाउने असन्तुष्टिको गहिरो संरचनात्मक कारण समाधान गर्न आग्रह गरिएको छ ।
बिहीबार साँझ भएको जनेरेसन जेड २१२ आन्दोलनको प्रदर्शनमा सहभागी युवाले राजाको सम्बोधनबाट ठूलो आशा राखेका छन् । उनीहरूका अनुसार राजा मोहम्मद छैटौँले यदि आफ्ना माग सम्बोधन गर्नुभयो भने प्रधानमन्त्री अजिज अखानोचप्रतिको जनआक्रोश घट्न सक्छ । “हामी आशा गर्छौं, उहाँको सम्बोधनले मोरक्कोका युवाका लागि सकारात्मक परिवर्तनको सङ्केत ल्याउनेछ”, कासाब्लान्कामा प्रदर्शनमा सहभागी १८ वर्षीया विद्यार्थी सौफियानले भन्नुभयो । रासस/एपी