• २४ असोज २०८२, शुक्रबार

छठ र दीपावलीका लागि माटाका भाँडा बनाउन व्यस्त कुम्हार समुदाय

blog

जनकपुरधामको कुम्हार बस्तीमा माटाको सामग्री बनाउन व्यस्त कुम्हार । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज २४ गते । छठ र दीपावली पर्व नजिकिँदै जाँदा धनुषासहित मधेशका विभिन्न ठाउँका कुम्हार समुदायका मानिस माटाका सामग्री बनाउने काममा निकै व्यस्त भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा २४ बसहियाका कुम्हार समुदाय बिहान सबेरैदेखि बेलुकी ढल्केसम्म छठ तथा दीपावलीमा प्रयोग हुने दियो, कलश, ठेकी, भाँडा र अन्य पूजामा प्रयोग हुने सामग्री बनाउनमै व्यस्त भएका हुन् ।

चाडपर्व नजिकिएसँगै बजारमा माटाका सामग्रीको माग तीव्र रूपमा बढेपछि कुम्हारहरूलाई अर्डर पुर्‍याउनसमेत हम्मे परेको जनकपुरधाम वडा नं। २४ बसहियाकी कुम्हार महिला कौशिल्या देवी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माटाको सामग्री पूजापाठका लागि शुद्ध मानिन्छ । दीपावली र छठमा विशेष गरी माटाका भाँडाकै प्रयोग हुने भएकाले अहिले माग धेरै हुन्छ ।” उहाँका अनुसार कुम्हारहरू बिहान सबेरैदेखि साँझ ढल्दासम्म माटो मोल्ने, भाँडा बनाउने र पोल्ने काममा व्यस्त रहन्छन् ।

त्यस्तै, सोही बस्तीका कुम्हार ७० वर्षीया परीक्षण पण्डित भन्नुहुन्छ, “छठ र दीपावली आउँछ भने हाम्रो घरमा पनि पर्व आउँछ । बिहानदेखि बेलुकीसम्म काम गर्छौं, नत्र माग पुर्‍याउन सकिँदैन ।” उहाँका अनुसार दीपावली तथा छठका लागि माटाका दियो, कलश, ठेकुवा राख्ने भाँडा, डिविया र धूपदानीजस्ता वस्तुको माग अहिले निकै बढेको छ । उहाँ दैनिक झण्डै एक हजार माटाका दियो बनाउनुहुन्छ्, जुन जनकपुरधाम र आसपासका बजारहरूमा नै खपत हुन्छ ।

वर्षभरि विभिन्न चाडपर्व आउने भए पनि दीपावली र छठका समयमा माटाका सामग्रीको माग अत्यधिक हुने कुम्हारहरू बताउँछन् । “सबैजना अहिले यही काममा व्यस्त छौं,” कौशिल्या भन्छिन्, “तर मेहनत अनुसारको दाम पाउन गाह्रो छ । बजारमा गएर बेच्ने ठाउँ हुँदैन, व्यापारीलाई दिए पनि आम्दानी थोरै हुन्छ ।”

तर बजारको चमक र प्रतिस्पर्धाले कुम्हारको परम्परागत पेशामा चुनौती थपेको छ । प्लास्टिक, पितल तथा विद्युतीय सामग्रीले बजारमा सहजै उपलब्ध भएपछि माटाका भाँडाको माग पहिले जस्तो छैन। “माटोका सामग्री बनाउन धेरै परिश्रम पर्छ, तर आम्दानी कम हुन्छ,” कुम्हारहरुको गुनासो छ ।

धार्मिक आस्थाले भने अझै माटाका भाँडाको स्थान जोगाइरहेको छ । स्थानीय ग्राहक गीता साह भन्नुहुन्छ, “छठमा त माटोको कलश र दियालो अनिवार्य हो । यसले पूजा पवित्र हुन्छ भन्ने विश्वास छ ।”

कुम्हार समुदायको जीवन अझै पनि माटो र परम्परासँग गाँसिएको छ । उनीहरूले माटो गुठीले उपलब्ध गराएको जमिनबाट ल्याउने गरेका छन् । तर, समयसँगै आफ्नो परमपरागत पेशाले पनि निरन्तरता पाउनुपर्ने र माटाका सामग्री बनाउनका लागि आवश्यक स्रोत साधन उपलब्ध भइदिए भावी पुस्तालाई यो पेशामा जोड्न सहज हुने कुम्हार बताउँछन् । कुम्हार समुदायका लागि यो सीप केवल रोजगारी मात्र होइन, पहिचान पनि हो ।

बसहियाका ४० घर कुम्हार समुदायकै बसोवास छ, जसमा अधिकांश परिवारले माटाकै सामग्री बनाउने गर्छन् ।