• ३० वैशाख २०८१, आइतबार

अक्करे पहिरोले तीन जिल्लालाई सास्ती

blog

उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक खसेको पहिरो पन्छाएर सवारी आगमन खुलाउँदै । तस्बिर :भक्तिविलास पोखरेल

खोटाङ, असार १७ गते । अक्करे भीरमा खसेको पहिरोले तीन जिल्लाका यात्रुलाई सास्ती दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, वाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका यात्रुले सास्ती खेप्नुपरेको छ । 

निरन्तरको झरीले अक्करे भीरमा बुधबारबाट पहिरो खसिरहेको छ । पहिरो निरन्तर झरिरहेकाले यात्रु तथा मालबाहक सवारीसाधनको आवतजावतमा समस्या भएको हो । पहिरोका कारण तीन दिनदेखि सडकमा सवारीसाधनको जाम लागेको छ । सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारीसाधनलाई पहिरो पार गराउने व्यवस्था मिलाएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । पहिरो पन्छाएलगत्तै पुनः खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन् । 

यी तीन जिल्लाबाट अन्य समयमा १०-११ घण्टामा काठमाडौँ पुगिन्छ तर अहिले उक्त पहिरोको कारण दुई दिनमा पनि काठमाडौँ आउजाउ गर्नसक्ने अवस्था नरहेको यात्रु बताउँछन् । विशेष गरी बिरामी बोकेर गएका सवारीसाधन र एम्बुलेन्स पहिरोका कारण रोकिँदा समस्या भएको छ । पहिरो पन्छाउने काम निरन्तर भए पनि माथिबाट खस्ने क्रम नरोकिँदा समस्या भएको प्रहरीको भनाइ छ ।

हैबारको अक्करे भीर र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको कदुवामा पहिरो खसेका कारण बिहीबार दिक्तेलबाट कुनै पनि सवारीसाधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । अक्करे भीरमा सामान्य वर्षाकै कारण पहिरो खस्ने गरेको छ । मध्यपहाडी लोकमार्गको अन्य ठाउँमा पनि पहिरो खसेको छ । लोकमार्गमै पर्ने बादुरा खोलाको पुल निर्माणमा ढिलाइ हुँदा बाढीका कारण सवारी साधन घण्टौँ रोकिने गरेका छन् ।