यदुप्रसाद भट्ट
मनाङ, असोज २२ गते । यतिबेला माथिल्लो मनाङका स्थानीयहरू हिउँदे तरकारीका रूपमा प्रयोग गरिने हिमाली च्याउ सङ्कलनमा व्यस्त छन् ।
मनाङमा जेठ–असारमा गुच्ची (जाली), साउन–भदौमा रातो र असोजमा सेतो (काउली) लगायतका विभिन्न प्रकारको च्याउ पाइन्छ । स्याउ नलगाउनेहरू यतिबेला च्याउ टिप्छन् । व्यावसायिक रूपमा स्याउखेती गर्नेहरू धमाधम स्याउ टिप्न र बजार व्यवस्थापनमा व्यस्त छन् ।
हिजोआज हिमाली क्षेत्रको चिसो हावापानीमा पाइने विभिन्न प्रकारका च्याउ कम मात्रामा भेटिन्छन् । मिठो र पोषिलो हुने यी च्याउ गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा पहाडी वनहरूमा वर्षा सिजनमा पाइन्छ ।
मनाङीले वनबाट टिपेर ल्याएका च्याउ स्थानीय व्यापारीलाई बेच्छन् । कतिपयले सहरमा रहेका आफन्त तथा इष्टमित्रलाई कोसेलीको रूपमा पठाउन च्याउ टिप्ने गर्दछन् । व्यावसायिक रूपमा मनाङका च्याउखेती गरिएको पाइँदैन ।
नासो गाउँपालिकाको तालगाउँमा कृषक समूहले रहर गर्दा करुको छ्वालीमा परीक्षणस्वरूप च्याउ लगाइएको भए पनि उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मनाङमा च्याउ कि स्याउ भनी रोज्नुपरेमा पक्कै पनि स्याउ नै रोजिन्छ ।’’
प्रमुख रेग्मीले च्याउलाई कृषि ज्ञान केन्द्रअन्तर्गत राख्नेकि नराख्ने भन्ने विषयमा छलफल नै गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार प्राकृतिक रूपमा जङ्गलमा पाइने तथा मनाङका धेरैजसो वनक्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने हुनाले पनि एक्यापले यसको तथ्याङ्क राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
पोषण र औषधीय गुणले भरिपूर्ण यो च्याउ संकलन गरेर कोसेलीको रूपमा पठाउने गरेको मनाङ ङिस्याङ गाउँपालिका –१ पिसाङका युवा उद्यमी रामबहादुर गुरुङ (मुखिया) ले बताउनुभयो । उहाँले दुई तीन घण्टा खट्दा एक डोकोसम्म च्याउ भेटिने गरेको बताउनुभयो ।
सानैदेखि च्याउ टिप्दैआएका मुखियाको अनुभवमा पछिल्ला वर्षमा च्याउ उम्रिन कम हुँदैगएको छ । यसवर्ष मुखियाले विभिन्न थरीका गरी १० डोको च्याउ टिपेर सुकाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो बारीमा खासै स्याउ छैन, असोज महिना च्याउ टिपेर सुकाउँछु, स्याउको सट्टा आफन्तलाई च्याउको सुकुटी कोसेली पठाउँछु ।’’
उहाँले बाँकी रहेको च्याउ हिउँदमा तरकारीका रूपमा प्रयोग गरिने बताउनुभयो । सदरमुकाम चामेभन्दामाथि रातो च्याउ पाउन गाह्रो हुन्छ । सेतो (काउली) च्याउ विशेषगरी नार्पाभूमि गाउँपालिका र मनाङ ङिस्याङको पिसाङमा पाइने नासोँ गाउँपालिका –६ तिल्चेका वडाध्यक्ष पुष्पबहादुर गुरुङले बताउनुभयो ।
उहाँले खास च्याउका नामबारे जानकार नभए पनि स्थानीयहरू वर्षा सिजनमा च्याउ टिप्न जानेगरेको बताउनुभयो । वडाध्यक्ष गुरुङले पनि स्याउ नहुनेहरूले कोसेलीका रूपमा च्याउ दिने गरेको सुनाउनुभयो ।
गुच्ची च्याउ दुई किसिमको हुन्छ । सेतो र कालो । कालो गुच्ची च्याउ विशेषगरी ओसिलो ठाउँमा पाइन्छ भने सेतो गुच्ची च्याउ घमाइलो पाखामा पाइन्छ । च्याउ संकलकका अनुसारसमयमा पानी नपर्ने मौसमी अवस्था, वन फँडानी र आगलागीजस्ता कारणले च्याउ कम हुन थालेको छ ।
ढुसीको विकसित वर्गमा पर्ने गुच्ची च्याउ सडेका वस्तु र रुखका मुढामा उम्रिन्छ । समयमै टिप्न नसके यो कुहिएर जान्छ । प्राकृतिक रूपमा मात्र पाइने भएकाले यसको उत्पादन सीमित हुन्छ ।
नेपालको हावापानीमा गुच्ची च्याउ दुई हजार दुईसय मिटर आसपासको उचाइमा धेरै पाइन्छ । चिस्यान भएको माटोमा आफैँ उम्रिने यो च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियम र फस्फोरस पाइन्छ । मौसममा हुने परिवर्तनका कारण जङ्गलमा पाइने यो च्याउको उत्पादन घटबढ हुँदा च्याउ टिपेर आम्दानी गर्नेको जीविकोपार्जनमा असर परेको छ ।