• २४ असोज २०८२, शुक्रबार

तमोर मेवा आयोजनाका लागि जुट्यो लगानी

blog

आयोजनाका लागि प्रवर्धक कम्पनी र बैङ्कका प्रतिनिधिबिच लगानी सम्झौता गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २४ गते । ताप्लेजुङमा निर्माण गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण गर्न लागिएको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो । 

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बूका अनुसार आयोजनाका लागि सिद्धार्थ बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुट्ने भएको हो । सिद्धार्थ बैङ्क लिमिटेडको नेतृत्व र माछापुच्छ्रे बैङ्क लिमिटेडको सह नेतृत्वमा आयोजना निर्माण गर्न लाग्ने कुल लागतको ७५ प्रतिशत लगानी जुटाउने समझदारी भएको कम्पनीका संस्थापक अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनालाई लगानी जुट्ने निश्चित भएसँगै बिहीबार प्रवर्धक कम्पनीका वर्तमान अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैङ्कका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सिद्धार्थ र माछापुच्छ्रे बैङ्कको अगुवाइमा कृषि विकास बैङ्क लिमिटेड, नेपाल एसबीआई बैङ्क लिमिटेड, ज्योति विकास बैङ्क लिमिटेडले लगानी गर्ने भएका छन् । त्यस्तै आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडले पनि लगानी गर्ने भएका छन् ।

आयोजनाको कुल लागत भने अनुमानित २३ अर्ब चार करोड रुपियाँ रहेको कम्पनीले जनाएको छ । उक्त लागत रकमको ७५ प्रतिशत लगानी सिद्धार्थ र माछापुछ्रे बैङ्कको अगुवाइमा हुने भएको कम्पनीका प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक चौधरीका अनुसार बाँकी बाँकी २५ लागत रकम स्वपुँजीका रुपमा प्रवर्धकहरुबाट जुटाइने भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमाना भई बग्ने तमोर नदीमा मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाको पानी मिसाएर आयोजना निर्माण गरी विद्युत उत्पादन गर्न लागिएको हो । फुङ्लिङ नगरपालिका वडा १, २ र ३, मिक्वाखोला गाउँपालिका वडा १, २ र ३, मेरिङ्देन वडा ३ तथा आठराई त्रिवेणी गाउँपालिकाको वडा २, ३ र ५ आयोजनाको प्रभावित क्षेत्रमा पर्दछ ।

यता स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले २०७७ साल असोजमा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन भने २०७५ साल असारमै वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । विद्युत् खरिद बिक्रीका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबिच २०८० असोजमा सम्झौता भइसकेको छ । आगामी तीन वर्ष पाँच महिना अर्थात् २०८५ असोजभित्र आयोजना निर्माण गरिसक्ने कम्पनीले लक्ष्य राखेको जनाएको छ ।