• २४ असोज २०८२, शुक्रबार

अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षण अभियान

blog

पर्यावरण संरक्षणको अभियान लिएर अन्नपूर्ण आधार शिविर पुगेको युवाको टोली ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रवर्धन र पर्यावरणको संरक्षणसम्बन्धी सचेतनामुलक कार्यक्रम लिएर युवाहरुको टोली आधार शिविर पुगेर फर्किएको छ । 

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि सचेतनामुलक अभियान लिएर टोली आधार शिविर पुगेको थियो । हाइज फाइभ एडभेन्चर प्रा.लिको प्राविधक सहयोगमा म्याग्दी,बागलुङ,रुकुम,तनहुँ लगायत जिल्लाका २७ जना युवाको टोली अभियान लिएर मौरिस हर्जोग पदमार्ग हुँदै आधार शिविर पुगेर फर्किएको छ । 

टोलीले पदमार्गको प्रवेशद्वारका रुपमा रहेको नारच्याङको बेंसी गाउँमा स्थानीयहरुसँग जलवायु परिवर्तनले हिमालमा परेको असर र पर्यावरण संरक्षणका लागि अपनाउनुपर्ने विषयमा अन्तरक्रिया गरेको छ । 

हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्यावरण संरक्षणको सचेतना फैलाउने उद्देश्यले आफूहरु पदयात्रा गर्दै आधार शिविर पुगेर फर्किएको टोलीमा सहभागी बागलुङकी रमिता पुनले बताउनुभयो । उहाँका अनुसार २७ जना युवाहरुको टोली नारच्याङदेखि मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरसम्म पुगेको थियो । 

पदयात्रामा सहभागीहरुले पर्यावरण संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै आधार शिविरमा हस्ताक्षर गरेको उहाँले जानकारी दिनुभयो । युवाहरुको समुह आधार शिविर सम्म पुगेर पदमार्गको प्रवद्र्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि गरेको कार्य उदाहरणीय भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । 

उक्त कार्यक्रमले पर्यावरणीय सन्तुलन र स्वच्छ पर्यटनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पदयात्राका क्रममा टोलीले बाटोमा सरसफाइ गरेका छन् । 

युवाहरुले पर्यटनसँगै वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टोलीमा सहभागी पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हिँड्ने बाटो सफा राख्दै स्थानीयलाई पनि सफाइ र जलवायु अनुकूल व्यवहारमा प्रेरित गरेका छौं ।’’