• २४ असोज २०८२, शुक्रबार

कर्मैया–पिपलमाडी सडक सातादेखि अवरुद्ध

blog

कर्मैया–पिपलमाडी सडकमा खसेको पहिरो । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असोज २४ गते । पूर्वपश्चिम राजमार्ग सर्लाहीको बागमतीबाट मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको झनझनेसम्म पुग्ने कर्मैया–पिपलमाडी सडक एक सातादेखि अवरुद्ध छ । 

सडक अवरुद्ध हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका स्थानीय मारमा परेका छन् । यी दुई पालिकाका वासिन्दा कर्मैया–पिपलमाडी सडक भएर सर्लाहीको बागमती र हरिवन बजारमा दैनिक उपभोग्य वस्तु किनमेलमा आउने गरेका छन् । 

असोज १८ गतेको वर्षापछि सर्लाहीको बागमती नगरपालिका –११, कर्मैयास्थित परेवा भिरदेखि बुद्धशान्ति तपोवनसम्म ठाउँ–ठाउँमा ठुलो पहिरो खसेकाले सडक अवरुद्ध रहेको बस व्यवसायी किस्मतराज मैनालीले जानकारी दिनुभयो । कर्मैया–पिपलमाडी सडक भएरै मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय र त्यहाँ कार्यरत कर्मचारी आउजाउ गर्ने गरेका छन् । 

कर्मैया–पिपलमाडी सडक खण्डको बस भाडा २५० भए पनि अहिले यो सडक अवरुद्ध रहेकाले सिन्धुली वा हेटौंडा भएर आवत–जावत गर्नुपर्दा ७०० रुपियाँ भाडा तिर्नुपरेको स्थानीयले गुनासो गरेका छन् । सडकमा पहिरो खसेर गाडी चल्न नसक्दा बिरामीलाई उपचारका लागि झोलुङ्गोमा हालेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

बस व्यवसायी मैनालीका अनुसार यही सडक भएर दैनिक २०÷२५ वटा मोटरसाइकलमा सर्लाही र रौतहटका माछा व्यापारीले सिन्धुली र मकवानपुरको विभिन्न भेगमा माछा लगेर बिक्री गर्ने गरेका छन् । एक सातादेखि सडक नै अवरुद्ध बनेपछि सबै क्षेत्र प्रभावित बनेको मैनालीको भनाइ छ । 

मधेश र बागमती प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’ समेत भनिने कर्मैया–पिपलमाडी सडकको १६ किलोमिटरमध्ये सर्लाही खण्डमा डेढ किलोमिटर मात्र पर्छ । सर्लाही खण्डमै अत्यन्त जोखिमपूर्ण चुरे पहाडको डेढ किलोमिटरमा यसरी बारम्बार पहिरो खसेर समस्या आउनेगरेको बस व्यवसायी मैनालीको गुनासो छ । 

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा विनियोजित १० लाख रुपियाँबाट सडकको रेखाङ्कन गरी स्वीस नियोगले ग्राभेल गरेपछि सडकमा गाडी चल्न सुरु भएको थियो । 

सर्लाही खण्डको डेढ किलोमिटर सडक कालोपत्रे गरिदिन बागमती नगरपालिकालाई आग्रह गरे पनि सुनुवाइ नै नभएको यातायात व्यवसायीले दुःखेसो पोखेका छन् । चार वर्षअघि नगरपालिका कार्यालयले बाटोमा ग्राभेल भर्ने काम गरेको थियो । 

एक सातादेखि अवरुद्ध राजमार्ग खुलाउन कसैले चासो नदिएपछि बस व्यवसायी आफैले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम सुरु गरेका छन् । एक छेउबाट पहिरो पन्छाएपछि मोटरसाइकल र साना सवारी मुस्किलले सञ्चालन हुन थाले पनि यात्रुबाहक बस सञ्चालन हुन अझै दुई–तीन दिन लाग्ने व्यवसायीले बताएका छन् ।