• २४ असोज २०८२, शुक्रबार

जापानमा गठबन्धन भङ्गपछि राजनीतिक सङ्कट गहिरियो

blog

जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइची ।

टोकियो, असोज २४ गते । सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि देश राजनीतिक अनिश्चिततामा फसेसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइचीको राजनीतिक यात्रा ठूलो सङ्कटमा परेको छ ।

तकाइचीले लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व एक हप्ताभन्दा कम समयअघि सम्हाल्नुभएको थियो र यो महिनामै संसदबाट प्रधानमन्त्रीका रूपमा अनुमोदन हुने अपेक्षा गरिएको थियो । तर, २५ वर्षदेखि लगभग निरन्तर सत्तामा रहेको एलडिपी-कोमेइतो गठबन्धनको अन्त्यले जापानलाई नयाँ राजनीतिक सङ्कटमा धकेलेको छ ।

गठबन्धन भङ्गको घोषणासँगै जापानी मुद्रा येन डलरको तुलनामा घट्यो भने निक्केई सेयर सूचकाङ्क एक प्रतिशतले तल झर्यो । “हामीले एलडिपी-कोमेइतो गठबन्धनलाई अहिलेका लागि अन्त्य गर्दै सम्बन्ध पुनर्विचार गर्न चाहन्छौँ । हाम्रो मागमा एलडिपीको स्पष्ट र ठोस सहयोग नपाएकाले यो निर्णय लिन बाध्य भएका हौँ”, कोमेइतोका प्रमुख तेत्सुओ साइटोले पत्रकारलाई भन्नुभयो, “यदि आवश्यक सुधार हासिल गर्न असम्भव भयो भने साने तकाइचीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु हाम्रो लागि पूर्णरूपमा असम्भव हुनेछ ।”

मिडिया रिपोर्टका अनुसार साइटो तकाइचीको एलडिपीभित्रको हालैको ‘स्लस फन्ड स्क्यान्डल’ सम्बन्धी जवाफप्रति असन्तुष्ट हुनुहुन्थ्यो । कोमेइतोले भने बजेट योजना र दुवै पार्टीले तयार पारेका अन्य कानूनमा सहयोग जारी राख्ने बताएको छ । तकाइचीले गत वर्ष पदभार सम्हालेका प्रधानमन्त्री सिगेरु इसिबालाई प्रतिस्थापन गर्ने तयारी गर्नु भएको थियो । 

तर, मुद्रास्फीति र एलडिपीभित्रको वित्तीय घोटालाका कारण गठबन्धनले संसद्को दुवै सदनमा बहुमत गुमाएको थियो । कोमेइतो, तकाइचीको रूढीवादी धारणाप्रति पनि असहज रहेको बताइएको छ । उहाँ विगतमा युद्ध अपराधीलाईसमेत सम्मान गर्ने यासुकुनी मन्दिरमा नियमितरूपमा जाने गर्नुहुन्थ्यो । उहाँका गुरु स्वर्गीय सिन्जो आबेले सन् २०१३ मा प्रधानमन्त्रीका रूपमा उक्त मन्दिरको अन्तिम भ्रमण गर्नुभएको थियो, जसले चीन, दक्षिण कोरिया र अमेरिका सबैको असन्तुष्टि निम्त्याएको थियो ।

यसै सन्दर्भमा, स्थानीय मिडियाले यो शरद ऋतुमा (अक्टोबर १७ देखि १९) मा हुने चाडपर्वका क्रममा तकाइचीले मन्दिर भ्रमण नगर्ने सम्भावना रहेको बताएको छ । मार्गरेट थ्याचरलाई आफ्नो आदर्श मान्नुहुने ६४ वर्षीया तकाइचीले शनिबार एलडिपीको नेतृत्व जितेपछि ‘नयाँ युगको सुरुआत’ भएको बताउनु भएको थियो । उहाँले युवा र लोकप्रिय राजनीतिज्ञ सिन्जिरो कोइजुमीलाई हराउनु भएको थियो । कोइजुमी ४४ वर्षको उमेरमा जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्न सक्ने सम्भावनामा हुनुहुन्थ्यो र एलडिपीभित्र पुस्ता परिवर्तनको प्रतीक मानिनुहुन्थ्यो ।

तर, स्यानसेइतो जस्ता आप्रवासन विरोधी साना दलका लागि जनसमर्थन बढ्दै जाँदा एलडिपीको लोकप्रियता घट्दै गएको छ । यदि तकाइची प्रधानमन्त्री बन्दै हुनुहुन्छ भने पनि उहाँले वृद्ध हुँदै गएको जनसङ्ख्या, कमजोर अर्थतन्त्र, आप्रवासनबारे बढ्दो असहजता र भूराजनीतिक तनावजस्ता गम्भीर चुनौतीको सामना गर्नुपर्नेछ । प्रधानमन्त्रीका रूपमा उहाँको पहिलो औपचारिक कर्तव्यमध्ये एक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत हुने छ । ट्रम्प अक्टोबरको अन्त्यतिर जापान भ्रमणमा आउने तयारीमा रहेको बताइएको छ । रासस/एएफपी