• २४ असोज २०८२, शुक्रबार

३४ लाख बराबरको भन्सार छलीका सामान बरामद

blog

स्मिता अर्जेल

मकवानपुरगढी, असोज २४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चौंतिस लाख रुपियाँ बराबरको भन्सार छली गरी ल्याइएका कपडा तथा प्रतिबन्धित पटकाजन्य पदार्थहरू नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान करिब ४ः१० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिको पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडीलाई शङ्का लागि रोकी जाँच गर्दा उक्त सामानहरु फेला परेका हुन् । 

गाडी चालक रौतहट जिल्ला बृन्दावन नगरपालिका–९ बस्ने २० वर्षीया प्रदीपकुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ बस्ने ३१ वर्षीया विजय साहलाई नियन्त्रणमा लिई जाँच गर्दा, गाडीको पछाडिको ढालाभित्र लुकाइ–छिपाइ ल्याइएका भन्सार छलीका कपडाहरू फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामानमा साडी १३० थान, कुर्था ६९६ थान, टप्स १७५ थान गरी कुल १००१ थान कपडाका वस्तु छन् । जसको अनुमानित मूल्य चौध लाख रुपियाँ बराबर  छ । 

साथै, प्रहरीले झिरझिरे लगायतका प्रतिबन्धित पटकाजन्य पदार्थहरू समेत बरामद गरेको छ  । जसको मूल्य करिब बीस लाख रुपियाँ बराबर रहेको बताइएको छ ।

प्रहरीका अनुसार, बरामद सामानसहित चौधरी र साहलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।बरामद सामानसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।