सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) असोज २४ गते । धनकुटा नगरपालिका–७, स्थित सङ्गम टोलका अजयकुमार बोगटी आफ्नो बाबु बाजेले पुर्खौदेखि सञ्चालन गर्दै आउनुभएको पेशामा अबद्ध हुनुहुन्छ । उहाँ घरेलु उद्योगबाट उत्पादन हुने छालाका जुत्ता–चप्पल बनाउने पेशामा हुनुहुन्छ । तर पछिल्लो उक्त पुर्ख्यौैली पेशा सङ्कटमा पर्दै गएका छन् । रेडिमेट जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब चार दशक अघिदेखिको जुत्ता–चप्पल बनाउने पेशा सङ्कटमा पर्दै गएका छन् ।
जिल्ला सदरमुकाम धनकुटासहित विभिन्न स्थानमा सञ्चालित जुत्ता–चप्पल बनाउने पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएको पाइएको छ । धनकुटा नगरपालिका–७ सङ्गमटोलममा सार्की जातिभित्र पर्ने रम्तेल, बाेगटी, रोकालगायतका स्थानीय जातिले जुत्ता बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएका थिए । अहिले यी उद्योग बन्द भएर केही उद्योगमा मात्रै सञ्चालित छन् । त्यासे त जिल्लाको केन्द्र रहेको धनकुटा बजारस्थित रहेको उक्त उद्योगमा कुनै बेला जुत्ताचप्पल किन्नेको भीड लाग्थ्यो । तर अहिले ती उद्योगहरु सुनसान अवस्थामा छन् ।
बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा र रेडिमेट जुत्ताचप्पल बजार भने झै पाउने भएपछि आफ्नो पुर्ख्यौली जुत्ता–चप्पल बनाउने पेशा सङ्कटमा पर्दै गएको विजय सु–सेन्टरका सञ्चालक अजयकुमार बोगटी बताउनुहुन्छ । स्थानीय छाला उत्पादन हुने जुत्ता–चप्पल कम मात्रै बिक्री हुने भएकाले पेशा नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीय व्यवसायी बताउँछन् । अहिले जेनतेन सामान्य रुपमा मात्र चलिरहेको बोगटी बताउनुहुन्छ ।
कुनै बेला परम्परागत घरेलु प्रविधिबाट धनकुटामा उत्पादन हुने छालाको जुत्ताचप्पल जिल्लाभित्र मात्र नभई देशका अन्य शहरमा समेत नाम कहलिएको थियो । गुणस्तर र टिकाउको हिसाबले यहाँ उत्पादन हुने छालाको जुत्ताचप्पल निकै लोकप्रिय थियो । यहाँ बनाइएका जुत्ता–चप्पल सबैको रोजाइमा पर्ने भएकाले सबैले किनेर लगाउने गर्थे । त्यसो त छालाको जुत्ता बनाउने एक उद्यमीले राष्ट्रिय पुरस्कारसमेत पाएका थिए । घरेलु उद्योगबाट उत्पादन हुने जुत्ताको मूल्य न्यूनतम १२ सयदेखि तीन हजार रुपियाँसम्म पर्छ ।
छालाको जुत्ता अन्यको तुलनामा टिकाउ र गुणस्तरीय हुने गर्छ । घरेलु उद्योगले थोरै पुँजीमा थोरै सङ्ख्यामा जुत्ता उत्पादन गर्छ । लागत खर्च नै धेरै पुग्ने भएकाले अरुको तुलनामा केही महँगो हुन्छ । पहिलेको तुलनामा व्यापार धराशयी बन्दै गएको मोहन सु सेन्टरका सञ्चालक कुमार बोगटी बताउनुहुन्छ । बाहिरबाट आउने रेडिमेट जुत्ताचप्पल सस्तोमा आउने हुँदा स्थानीय उत्पादितलाई प्रभाव पारेको बोगटीको भनाइ छ । जसले गर्दा पुर्ख्यौली पेशा मात्र नभई दैनिक जीविकोपार्जनमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ ।
कतिपयले जेनतेन पुर्ख्यौली पेशा धानेर बसेका छन् । बजारमा प्रतिस्पर्धा र जुत्ता–चप्पाल बनाउने आफ्नो पेशाले भविष्य सुरक्षित नभएका कारण युवापुस्ताले निरन्तरता दिन सकेका छैनन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा दर्ता भई सञ्चालनमा रहेका करिब १२/१३ वटाभन्दा बढी उद्योग छन् । त्यासो त दर्ता नभई सञ्चालनमा पनि रहेको पाइएको छ । कार्यालयले व्यवसायीका रुपमा सञ्चालन गर्ने नयाँ उद्योगलाई तालिम दिइरहेको छ । यस्तै आवश्यक अनुदानमार्फत प्रविधि हस्तान्तरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ ।