राजन रावत
हुम्ला, असोज २४ गते । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रमा रहेको बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई काठको टहरामा अध्ययन गर्नुपर्ने बाध्यता छ ।
पुरानो विद्यालय भवन भत्काइएपछि विद्यालयसँग अन्य विकल्प नहुँदा यसरी काठको टहरामा जस्तापाता छाएर विद्यालयमा पढाइ सुचारु गर्नुपरिरहेको हो ।
मावि स्तरको विद्यालयमा कक्षा तीन, चार, पाँच र छ कक्षाका सबै विषयको पठनपाठन काठको टहरामा बुधबारबाट सुरु भएको उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । घटस्थापनापछि विद्यालयको पुरानो भवन भत्काएपछि विद्यालयले पठनपाठन सुचारु गर्ने विकल्पमा यो व्यवस्था गरेर पढाइ सञ्चालन गरेको उहाँले बताउनुभयो ।
कक्षा कोठा नभएपछि पठनपाठन बन्द गर्ने अवस्था रहेको बताउदै त्यसो गर्दा विद्यार्थीहरुको पढाइमा ठुलो क्षति पुग्ने भएका कारण विद्यालयले आफ्नै पहलमा व्यक्तिगत जग्गा भाडामा लिएर काठमा जस्तापाताले छाएको टहरा निर्माण गरेर पढाइ सुरु गरिएको उहाँले बताउनुभयो । काठ र जस्ता विद्यालयसँग पुरानै भवनको रहेको भए पनि यसको निर्माण गर्न लाग्ने खर्च भने विद्यालयले आर्थिक भार ब्यहोरेको छ । ती टहरा तयार गर्न समय लागेको कारण दसैँ बिदापछि असोज २१ गतेबाट सुचारु हुनुपर्नेमा पढाइ दुई दिन ढिलो गरी सुरुवात गर्नुपरेको उहाँले बताउनुभयो ।
भवन भत्किएका कारण जेनतेन भए पनि पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको र त्यो काम सुरु भएकोमा प्रअ रोकायाले खसी व्यक्त गर्नुभयो । नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउनुपर्ने भएका कारण पठनपाठन कसरी नियमित गर्ने भन्ने चिन्ता रहेको बेला अब तत्कालका लागि समस्या समाधान भएको उहाँले बताउनुभयो ।
अब दुई वटा बालविकासका कक्षाहरु कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा विद्यालय छ । कक्षा सातदेखि दससम्म भने पहिलेकै कक्षाकोठामा पढाइ सुचारु भइरहेको छ । जसरी भए पनि टहरा निर्माण गरेर पढाइ सुचारु गरिएको भए पनि अब ती टहराको बाहिर प्लेन सिट र भित्र कपडाको व्यवस्था गर्न सके जाडोबाट विद्यार्थीहरुलाई न्यानो प्रदान गर्न सकिनेछ । पुराना सात वटा कोठा भत्काइएको छ । सो स्थानमा नयाँ आरसिसी भवन निर्माण कार्य सुरु हुन लागेको छ । विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका छन् ।