• २४ असोज २०८२, शुक्रबार

बिपी राजमार्गमा आज दिउँसोसम्म ट्रयाक सकिने, शनिबारबाट गाडी चल्ने

blog

अस्थायी डाइभर्सन बनाउने कामलाई तीव्रता दिइँदै । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 
बनेपा, असोज २४ गते ।
यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्णरुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ । क्षतिग्रस्त बिपी राजमार्गलाई शनिबारबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुर र सडक पुनर्निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरुले अस्थायी डाइभर्सन बनाउने कामलाई तीव्रता दिएका हुन् ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले आज (शुक्रबार) दिउँसोसम्म अवरुद्ध भएको बिपी राजमार्गको सबै स्थानमा अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने बताउनुभयो । उहाँले अवरुद्ध राजमार्ग सुचारु गर्नका लागि अहिले राजमार्गअन्तर्गतको चार सय बेंस, गिम्दीबेंसी, नार्के, चिउरीबास, चौकीडाँडा, बोक्सीकुना, माम्ती, मङ्गलटारमा काम भइरहेको बताउनुभयो ।

“चार सय बेंसीमा आज मध्यान्हसम्म काम सकिन्छ, गिम्दीबेंसी, नार्के, चिउरीबासमा समेत काम भइरहेको छ, यी स्थानमा दिउँसोसम्म ट्रयाक खुल्छ, बोक्सी कुनामा आज दिउँसो ३/४ बजेसम्म ट्रयाक खोल्ने काम सक्ने गरी काम भइरहेको छ” सिडिई योगेशले भन्नुभयो । उहाँले आज दिउँसो ४ बजेभित्र अवरुद्ध बिपी राजमार्गको सबै स्थानमा ट्रयाक खुल्ने बताउनुभयो ।

“गत साताको बाढीपहिरोबाट बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डतर्फ चार किलोमिटर सडकको डाइभर्सन सडक पूर्णरुपमा क्षति भएको छ, शुक्रबार दिउँसोसम्म हामी ट्रयाक खोल्ने काम सक्छौँ, अहिले हामीले सडकमा काम गरिरहेका उपकरणका लागि इन्धन लैजानको लागि ट्रयाक खोलेका हौँ, सबै ठाउँमा ट्रयाक सम्पन्न भएपछि शुक्रबार दिउँसो र रातभर काम गरेर शनिबार बिहानबाट साना/ठुला सबै सवारी चल्ने गरी सडक बनाउँछौँ” सिडिई योगेशले थप्नुभयो ।

उहाँले अहिले ट्रयाक खुलेकोमध्ये सबैभन्दा चौकीडाँडादेखि कटुञ्जेसम्मको दूरी लामो र उकालो र अप्ठ्यारो भएको बताउँदै उक्त स्थानमा सहज रुपमा सवारी साधन सञ्चालनका लागि रातभर सडकको सतह मिलाउनेलगायतको काम भइरहेको बताउनुभयो ।

सडक डिभिजनले अवरुद्ध राजमार्गमा ट्रयाक खोल्ने, त्यसमा साना/ठुला सवारी सञ्चालनका लागि सतह मिलाउने, चौकीडाँडालगायतको असजिलो स्थानहरुमा डबल लेन बनाउँदै सवारी सञ्चालन गरिने जनाएको छ । बाढीपहिरोबाट अवरुद्ध भएको राजमार्गलाई तुरुन्त खुलाउनका लागि सरकारले निर्देशन दिएसँगै सडक डिभिजन, निर्माण व्यवसायीका दुई दर्जनभन्दा बढी उपकरण प्रयोग गरिएको छ ।

छिटो सडक खुलाउन रातभर काम 
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराई र पहाडी जिल्लासँग जोड्ने छोटो दूरीको लाइफलाइन सडकको रुपमा लिइएको बिपी राजमार्ग दसैँलगत्तैको बाढीपहिरोबाट अवरुद्ध भएपछि सरकारले तीन दिनभित्र सञ्चालनमा ल्याउने जनाएको थियो ।

सरकारले बिहीबारभित्र सञ्चालनमा ल्याउने घोषणा गरे पनि रोसी खोलामा पानीको बहाव कम नभएका कारण सरकारले भनेको समयमा सडक सञ्चालनमा आउन सकेन । सरकारले राजमार्ग सुचारु गर्नका लागि सडक विभाग, सडक डिभिजनलाई दबाब दिएसँगै सडक डिभिजन र सडक पुनर्निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले दिउँसो र राति उपकरण चलाउने चालक राखेर २४ सै घण्टा सडक निर्माणको काम गरेका हुन् ।

सिनियर डिभिजनल इन्जिनियर योगेशले अवरुद्ध राजमार्ग सञ्चालनका लागि गए राति चौकीडाँडामा सतह सुधार, माम्ती, चिउरीबास झाँगमा रातभर बत्तीको  व्यवस्थापन गरेर सडकको काम गरिएको बताउनुभयो । उहाँले खोलिएको ट्रयाकमा सतह सुधारको लागि शुक्रबार रातभर काम गरिने बताउनुभयो ।

बाढीले क्षति गरेको बिपी राजमार्गको डालाबेशीदेखि चारसयबेंसीसम्मको पुनर्निर्माणका लागि खानी/एवान/कमलजीत जेभी र चारसयबेशीदेखि भकुण्डेबेंसीसम्म लामा/नवकान्तिपुर जेभीले ठेक्का पाएको छ । ठेक्का लागिसकेको यी दुई स्थानको सडकको काम सम्बन्धित निर्माण व्यवसायीबाट गराइएको छ भने जाइकाले गर्ने भनेको राजमार्गको बर्खेखोलादेखि पिप्लेसम्मको सडक र पिप्ले (सुख्खापहिरो)देखि डालाबेंसीसम्मको सडकको सडक डिभिजनले नै बनाएको हो ।

पिप्लेदेखि डालाबेंसीसम्मको सडकको ठेक्का मूल्याङ्कनको काम भइरहेको छ । गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोबाट बिपी राजमार्गमा चौकीडाँडादेखि बर्खेखोलासम्मको २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको थियो भने यस पटक राजमार्गको १६ स्थानमा क्षति भएको थियो ।