• २४ असोज २०८२, शुक्रबार

फरार कैदी पाँच वर्षपछि पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, असोज २४ गते ।
वडा प्रहरी कार्यालय वालिङबाट कैद तथा जरिवाना सजाय तोकिएर पाँच वर्षपछि एक जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साविक निबुवाखर्क गाविस –३ र हाल गल्याङ नगरपालिका –५ बस्ने श्यामबहादुर थापालाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चाैधरीले जानकारी दिनुभयो ।

२०७७ साल साउन १७ गते जिल्ला अदालतबाट चार दिन कैद र ११ लाख ५० हजार  रुपियाँ जरिवाना सजाय तोकेकोमा थापा फरार भएसँगै भुक्तान गर्न बाँकी थियो ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ स्याङ्जा प्रहरी निरन्तर सक्रिय रहेको र सोही अनुसार थापालाई समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी, फेदीखोला गाउँपालिका –५, बाँगेकी २८ वर्षीया प्रतिमा सुवेदीलाई सुन चोरी गरेको आरोपमा पक्राउ गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिका –१७, विरौटामा बसोबास गर्ने सुवेदीले असोज १८ गते उषा शर्माको घरबाट ३.५ तोलाको लकेटसहितको सुनको सिक्री र दुई तोलाको बेरुवा औँठी चोरी भएको थियो ।

घटना सार्वजनिक भएपछि अनुसन्धानका क्रममा प्रहरीले पुतलीबजार नगरपालिका –१ बाट सुवेदीलाई पक्राउ गरेको हो । सुवेदीले गरगहना पोखरामा लुकाइछिपाइ राखेको र सोही ठाउँबाट प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेकी प्रतिमालाई चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।