• २४ असोज २०८२, शुक्रबार

इलामको बाढीपहिरो प्रभावित क्षेत्रमा कोशी प्रदेशका मन्त्री

blog

बाढीले बगाएको मयू खोला पुल र फिक्कल–नयाँबजार सडकको निरीक्षण गरिँदै कोशी प्रदेशका मन्त्री र प्राविधिकसहितको टोली । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 
पशुपतिनगर (इलाम), असोज २४ गते ।
कोशी प्रदेशका मन्त्री र प्राविधिकसहितको टोलीले गत १८ गते रातिको बाढीले बगाएको मयू खोला पुल र फिक्कल–नयाँबजार सडकको क्षतिको निरीक्षण गरेका छन् ।

बाढीपहिरोले क्षति गरेको एक सातामा पहिलोपटक प्रभावित क्षेत्रमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, पूर्व मुख्यमन्त्री उद्धव थापासहितको प्राविधिक टोलीले मयू खोला, फिक्कल नयाँबजार सडक र फिक्कल खानेपानीको क्षतिबारे स्थलगत निरीक्षण गर्नुभएको हो ।

मयू खोलाको पुल बगाएपछि र फिक्कल–नयाँबजार सडक पहिरोले क्षतिग्रस्त बनाएपछि उक्त सडकमा यातायत सञ्चालन हुन सकेको छैन । पुल र सडक बगाएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको यातायत सम्पर्क टुटेको छ । यस्तै सूर्योदय नगरपालिका वडा नं. १ गोर्खेसमेत यातायात सेवाबाट वञ्चित भएको छ ।

निरीक्षणपछि मन्त्री राईले उक्त खोलामा तत्कालका लागि अस्थाई संरचना निर्माण गरिने जानकारी दिनुभयो । उहाँले क्षति भएका सडक, पुल तथा भौतिक संरचनाको पुनर्निर्माण र मर्मतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री रानाले चाँडो काम सम्पन्न गरी यातायत सहज बनाउन प्राविधिकलाई निर्देशन दिनुभयो । उहाँले बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

क्षति भएका संरचनाबारे सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले जानकारी गराउनुभएको थियो । नगर प्रमुख राईले कोशीका मन्त्रीलाई स्थानीय पालिकासँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

क्षति भएका संरचनाको निरीक्षणको क्रममा कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री खिनु लङ्वा लिम्बू, प्रदेश सांसद वन्दना अधिकारी(खगेश्वरी) लगायतको सहभागिता थियो । सांसद लङ्वाले इलाम जिल्लै क्षतिग्रस्त भएको समयमा प्रदेश सरकारको प्रभावित क्षेत्रमा कमजोर उपस्थिति भएको बताउनुभयो । उहाँले भौतिक संरचना पुनः निर्माणमा प्रदेश सरकारले तत्काल आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

निरीक्षणको क्रममा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव रमेशकुमार श्रेष्ठ, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतो, पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जयबहादुर यादव लगायत रहनुभएको थियो । पूर्वाधार विकास कार्यालय झापाका प्रमुख महताले क्षति भएका स्थानमा तत्कालका लागि अस्थाई संरचना निर्माण गरी, पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो ।

मयू खोलामा पानी फिँजाउने काम सकिएर सडक बगेको स्थानमा ट्रयाक खोल्ने काम भइरहेको छ । आज साँझसम्ममा ट्रयाक खोलेर अस्थाई रुपमा यातायत सञ्चालन गर्ने काम भइरहेको छ । उक्त सडक र पुल मर्मतका सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले ५०÷५० प्रतिशत लगानीमा काम गरिरहेका छन् ।

बाढीपहिरोले सूर्योदयमा वितरण हुँदै आएको श्रीखोलाको पाइपलाइन पहिरोले बगाएपछि अहिले फिक्कल, पशुपतिनगर, कन्याम, आइतबारे, बरबोटेसहितका बजार क्षेत्रमा पिउने पानीको हाहाकार भएको छ । पहिरोले पाइपलाईन बगाउदा डेढ करोड बढिको क्षति गरेको सूर्योदयका उपप्रमुख तथा फिक्कल खानेपानी तथा सरसफाई समितिका संयोजक बरालले जानकारी दिनुभयो । खानेपानी मर्मतको काम भइरहे पनि अझै केहि दिनमा मात्र पानी आउन सक्ने कार्यालयले जनाएको छ । कोशी प्रदेश सरकारले इलामका बाढीपहिरो प्रभावित क्षेत्रमा सहत सामग्री उपलब्ध गारउँदै आएको छ ।