शङ्कर केसी
शारदा (सल्यान), असोज २४ गते । सल्यानमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत साउन १२ देखि कात्तिक ३० गतेसम्मका लागि नयाँ दर्ता एवं अद्यावधिक कार्य भइरहेको छ । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढ्दै गएको कार्यालयले जनाएको छ ।
उहाँका अनुसार नयाँ दर्ता गर्नेहरू अधिकांश १६ देखि २२ वर्ष उमेर समूहका युवा रहेका छन् । असोज १२ गतेदेखि नामावलीमा नाम दर्ता तथा त्रुटि सच्याउन सकिने गरी काम अगाडि बढाइए पनि लगत्तै दसैँ बिदा, दसैँपछि पनि प्रदेश सरकारको बिदा, जिल्लाको मेला पर्वलगायतका कारण बुधबारबाट मात्रै उत्साहजनक रूपमा दर्ताको कार्य भएको भण्डारीले जानकारी दिनुभयो । बुधबार मात्र १९ जनाले नाम दर्ता गराएका थिए । यो अवधिमा ३३ जनाले अद्यावधिक गरेका छन् । विगतका निर्वाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाता यस पटक आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको पाइएको छ । मतदाता नामावलीमा नाम लेखाउन आवश्यक प्रचारप्रसार पनि कार्यालयले गरिरहेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा स्थायी मतदाता एक लाख ५७ हजार ७०१ जना र अस्थायी मतदाता दुई हजार ६६१ जना रहेका थिए । जसमा ८४ हजार ३१२ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले जानकारी दिनुभयो ।