• २४ असोज २०८२, शुक्रबार

वनै खायो पुतलीले

blog

पुतलीले पात खाएर नाङ्गै देखिएका सालका रुख । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसीपुर, असोज २४ गते । बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतली लागेर सामुदायिक वनमा ठूलो क्षति भएको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, शितलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी सामुदायिक वनमा पुतलीले करिव एक हजार एक सय  हेक्टर क्षेत्रफलमा रहेका साल, सिसौ, बकाइनो, टीकका पातलगायत बुट्यानसमेत खाएर नष्ट गरेको छ । 

पुरन्धारा सव डिभिजन वन कार्यालय पूर्व हापुरेका प्रमुख खिमबहादुर केसीका अनुसार मौसम परिवर्तन भएसँगै महुत प्रजातिको पुतलीले सामुदायिक वनमा रहेको वनस्पति खाने गरेको बताउनुभयो । केसीका अनुसार करिब चार वर्ष अघि घोराही उपमहानगरपालिकामा वडा नम्बर ११ मा रहेका चारवटा सामुदायिक वनमा समेत यस्तै समस्या आएको बताउनुभयो । 

केसीले भन्नुभयो,“विगतमा पनि यस्तै समस्या सामुदायिक वनमा देखिएर केही नमुना परीक्षणका लागि पठाएका थियौँ तर यस विषयमा कुनै जानकारी नआएपछि उपभोक्ताले पुतलीको प्यूपा टिपेर नष्ट गर्नुभएको थियो ।” उहाँले बबई गाउँपालिकाभित्रका सामुदायिक वनमा देखिएको समस्या समाधानका लागि उपभोक्ता र डिभिजन वन कार्यालयको समन्वयमा समाधान गरिने बताउनुभयो । 

पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्रबहादुर खड्काले सामुदायिक वनमा रुखका सबै पात खाइदिएपछि ठूलो क्षति भएको  बताउनुभयो । उहाँले  पात खाइदिएपछि वन नै उजाडिएको बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो, ‘पात सबै खाइदिएको छ, जम्मै रुख ठ्याङ्ग्रामा परिणत भएका छन् । ठूला रुख सकेर अहिले भुइँमा रहेका बुट्यान, झारपात पनि सबै सखाप पारेको छ । किराले रुखका पात खाइदिएपछि उपभोक्तालाई साल, बकाइनो, टिक, सिसोका रुख पलाउने हुन् कि होइनन् भन्ने चिन्ता थपिएको छ ।  

पदमपुर सामुदायिक वनका उपभोक्ता रामप्रसाद सुवेदीले पात पलाए पनि रुखको वृद्धि विकासमा ठूलो क्षति हुने निश्चित भएको बताउनुभयो । उपभोक्ताल सुवेदीले उपभोक्ता वनमा घाँस दाउरा ल्याउन गएको बेला पुतलीको झुसका कारण शरीर चिलाउने समस्या देखिएको समेत बताउनुभयो । सामुदायिक वनका उपभोक्ता एवम् बबई गाउँपालिका–५ का पूर्ववडाध्यक्ष डम्बर श्रीसले चैत वैशाखमा डढेलोबाट बचाएको वन असोज कात्तिक महिनामा किराले सकेको बताउनुभयो ।