अमरराज नहर्की
तनहुँ, असोज २४ गते । जेनजी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका ११५ जना कैदीबन्दी तोकिएको म्याद सकिँदासम्म पनि कारागार फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरेको थियो, तर म्याद समाप्त भइसके पनि ती कैदीबन्दी अझै सम्पर्कविहीन रहेको कारागार प्रशासनले जनाएको छ ।
कार्यालयले फरार कैदीहरूलाई तुरुन्त आत्मसमर्पण गर्न आग्रह गर्दै, लुकाउने वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । कारागार ऐन, २०७९ अनुसार तोकिएको म्यादभित्र नआएकाहरूमाथि अब कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गत भदौ २४ गते साँझ भएको जेनजी आन्दोलनका क्रममा ३२७ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये १६ जना महिला र बाँकी पुरुष गरी २१२ जनालाई नियन्त्रणमा लिइसकिएको छ भने बाँकी ११५ जना अझै फरार रहेका छन् । फरार घटनापछि स्थानीय समुदायमा असुरक्षा र त्रास बढेको छ । चोरी, लुटपाट र हिंसात्मक गतिविधिको सम्भावनाले जनजीवन प्रभावित भएको स्थानीयवासीको भनाइ छ ।
कारागार प्रशासनले फरार कैदीबारे जानकारी हुने जो कोही-परिवार, समुदाय, नागरिक समाज, पत्रकार वा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ । जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने जनाएको छ ।
फरार कैदीबारे जानकारी भएमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल मनकामना गण नं. २३ भानु, वा जिल्ला कारागार कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।