• २४ असोज २०८२, शुक्रबार

अस्थायी ‘डाइभर्सन’ बनेपछि सहज

blog

मुस्ताङको लोघेकर दामोदर गाउँपालिका–२ स्थित घमीखोलाको अस्थायी ‘डाइभर्सन’ ।

मुक्तिनाथ समाचारदाता  

मुक्तिनाथ (मुस्ताङ), असोज २४ गते । मुस्ताङको लोघेकर दामोदर गाउँपालिका–२ स्थित घमीखोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक ‘कन्टेनर’ बाहिरिन थालेका छन् । जोमसोम–कोरला सडक अन्तर्गत घमीखोलामा निर्माणाधीन पुल सम्पन्न नभएपछि धेरै टन सामान बोकेका ‘ट्रक’ तथा ‘कन्टेनर’ घमीखोलाको कच्ची पुलबाट बाहिरिन समस्या भएको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिका, सडक विभाग र स्थानीय व्यापारीको समन्वयमा घमीखोलाबाट मालवाहक ठुला ट्रक आवतजावत गर्न सक्ने गरी ‘डाइभर्सन’ गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले तत्काललाई राहत मिलेको बताउँदै सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णता दिन ताकिता गरिरहेको बताउनुभयो । अध्यक्ष विष्टले भन्नुभयो, “भन्सार चल्न थालेपछि सडकखण्डमा अपूरा पूर्वाधारलाई गति दिन सम्बन्धित निकायलाई ताकिता गरेका छौँ, मालवाहक ‘ट्रक’ तथा ‘कन्टेनर’ बाहिरन समस्या भएकाले सडकसमेत मर्मत गर्नु पर्छ ।”

 यात्रुवाहक र अन्य साना सवारी सञ्चालनका लागि घमीखोलामा निर्मित पुरानै पुल प्रयोग हुने छ । उक्त पुलबाट यसअगाडि साना ट्र«कले समेत सामान पार गरेको अवस्थामा अब यात्रुवाहकबाहेक भन्सारबाट आउने सबै मालवाहकलाई डाइभर्सन गरिएको स्थानबाटै आवतजावत गर्ने प्रबन्ध मिलाइएको वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले बताउनुभयो ।

अघिल्लो साता भन्सार कार्यालयबाट जाँचपास भएको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडको मनाङ जिल्लाका लागि भित्रिएको १८ वटा मालवाहक लरी २० देखि ३० टनभन्दा बढी भएकाले सडकखण्डमा रहेका पक्की पुलको समेत भारवहन परीक्षण गरी लैजानुपर्ने अवस्था छ । घमीखोलामा छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एन्ड इमोटल जेभी कन्स्ट्रक्सनले ४० मिटर लामो पुल २०७५ सालदेखि निर्माण सुरु गरे पनि पूरा भएको छैन । 

यता भन्सार कार्यालयमा कोरला नाका हुँदै छ वटा मालवाहक भित्रिएका छन् भने भन्सार कार्यालयबाट जाँचपासपछि कोरला–जोमसोम सडकखण्डबाट लरीसहित ४९ मालवाहक बाहिरिएका छन् । भन्सार कार्यालयका प्रमुख रमेश खड्काले हेभी उपकरण बोकेर आएका जलविद्युत् कम्पनीलाई सडकखण्डको अवस्थाबारेमा जानकारी दिइएको बताउनुभयो । 

कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न २५१ किलोमिटरको सडकमध्ये १८६ किलोमिटर दुरीको कोरला–जोमसोम–बेनी सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णतामा ढिलाइ हुँदा नेपाली व्यवसायीले समेत साना मालवाहक लिएर भन्सार कार्यालयबाट सामान ढुवानी गर्ने गरेका छन् । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाका भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीमा पर्छ ।