ज्ञानु पंगेनी
मध्यविन्दु, असोज २४ गते । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरी कावासोती नगरपालिकाले आधारभूत तह खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ । कावासोती – १७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा कक्षा चारदेखि आठसम्मका विद्यार्थीहरू सहभागि भएका छन् । प्रतियोगितामा एथेलेटिक्सतर्फका छात्र र छात्रातर्फको हाइजम्प, लङजम्प त्रिपलजम्प र सय मिटर, दुई सय मिटर र चार सय मिटर दौड प्रतियोगिता समावेश छन् । कावासोती नगर खेलकुद विकास समितिको आयोजना तथा सरस्वती माविको व्यवस्थापनमा सञ्चालन गरिएको प्रतियोगितामा नगरका सामुदायिक र संस्थागत गरी ३९ वटा विद्यालयको सहभागिता रहेको छ ।
कावासोती शिक्षा शाखा अधिकृत राजन पाण्डेले प्रत्येक वर्ष खेलाइने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नर्सरीको रुपमा आधारभूत तहको प्रतियोगितालाई आफूहरूले लिएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड, मावि तहको विद्यार्थी लक्षित गरेर मात्रै खेलाइने हुँदा सानै उमेरदेखि प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदा प्रतिस्पर्धात्मक भावनाको विकास, अनुशासन लगायतका बहुआयामिक फाइदा हुने भएकाले कावासोतीले विगत चार वर्षदेखि आधारभूत तहको एथलेटिक्स प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड खेल्नका लागि पनि सानै उमेरदेखि खेल खेल्ने अवसर प्रदान गरी उनीहरूको सीप विकास हुने र भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत सहभागि हुन सक्छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् कावासोती १२ का अध्यक्ष खनालले ग्रामीण क्षेत्र र सानै उमेरदेखि विद्यार्थीहरूलाई खेल सिकाउँदै गइयो र उनीहरूको प्रतिभा पहिचान गर्दै गएमा भोलिका दिनमा राष्ट्रपति रनि शिल्डमा राम्रो गर्छन् भन्ने विश्वासले यसरी प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । आधारभूत तहका विद्यार्थीहरू खेल्नलाई छुटिराखेको, प्रतियोगिताहरुबाट बञ्चित भइराखेको अवस्थामा यस प्रतियोगिताले उनीहरूको प्रतिभा प्रस्तुत गर्नका लागि बाटो खुलेको समेत खनालले बताउनुभयो ।
प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै कावासोती नगरपालिका प्रमुख फूल कुमारी थनतेले उद्घाटन गर्दै खेलकुद प्रतियोगिता मात्रै नभई मैत्री सहकार्य र आत्मविश्वासको प्रतीक समेत रहेको बताउनुभयो । उहाँले कावासोती नगरपालिकाले यस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्दै आएको भन्दै यस्ता प्रतियोगिताले युवाहरूको उत्साह , आत्मविश्वास र सकारात्मक सोच जगाउन मदत गर्ने बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले खेलकुदले शारीरिक, मानसिक तथा सामाजिक विकास सँगै प्रतिस्पर्धात्मक क्षमताको पनि सहजीकरण गर्ने बताउनुभयो ।
कार्यक्रममा सरस्वती माविका प्रध्यानाध्यापक फणिन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्रोत शिक्षक तीर्थ कंडेल रसरस्वती माविका सहप्रध्यापक डिल्ली प्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो । प्रतियोगिता भोलीसम्म सञ्चालन हुने छ । प्रतियोगितामा उत्कष्ट हुने विद्यार्थीहरूलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने स्रोत शिक्षक तीर्थ कंडेलले जानकारी दिनुभयो ।