• २४ असोज २०८२, शुक्रबार

दस कैदीबन्दी अझै फरार

blog

जिल्ला कारागार जुम्ला । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), असोज २४ गते ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्लाबाट भागेका ४१ मध्ये दस जना कैदीबन्दी अझै फरार रहेका छन् । फरार कैदीबन्दीलाई प्रहरीको पटक–पटक सम्पर्कमा आउन अनुरोध गरेपनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले फरार कैदीबन्दीमध्ये अधिकांश विभिन्न आपराधिक मुद्दामा जेल सजाय काटिरहेका थिए ।

उहाँले भन्नुभयो, ‘‘सम्पर्कमा आउन र आत्मसमर्पण गर्न हामीले पटक–पटक आग्रह गरेका छौं, तर उनीहरूले अटेरी गरेका छन् ।’’ फरार कैदीबन्दीको खोजीका लागि जिल्लाभर सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी बढाएको उहाँले बताउनुभयो । साथै अन्य जिल्ला र नाकामा पनि सूचना आदान–प्रदान गरेर खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । जेनजी आन्दोलनलाई फाइदा उठाउँदै ४१ जना कैदीबन्दी फरार भएका थिए ।

तीमध्ये ३१ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पुनः नियन्त्रणमा लिई सकेको छ । बाँकी दस जनाको पनि खोजीकार्य भइ रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई अटेरी गरी सम्पर्कमा आउन नमान्य कैदीबन्दीलाई रातिको समयमा नियन्त्रणमा लिने गरिएको रेग्मीले बताउनुभयो ।

यसैगरी, काठमाडौँ, केन्द्रीय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदी सुजन बुढालाई नियन्त्रणमा लिइएको रेग्मीले बताउनुभयो । जुम्ला घरभई काठमाडौँबाट भागेका कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार जुम्लामा राखिएको उहाँको भनाइ छ ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ । जिल्ला कारागार जुम्लामा हाल ९७ जना कैदीबन्दीमध्ये पाँच जना महिला र ९२ जना पुरुष कैदीबन्दी रहेका छन् ।