बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज २१ गते । बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण सुरु भएको छ ।
असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट क्षतिग्रस्त उक्त खण्डमा जतिसक्दो चाँडै यातायात सुचारु गर्न सोमबारदेखि डाइभर्सन सडक निर्माण सुरु गरेको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत सिन्धुली जिल्लातर्फ काभ्रेको सिमाना वर्षे खोलासम्म रोसी खोलाको बाढीले विभिन्न ठाउँमा ५५० मिटर डाइभर्सन सडक बगाएको छ ।
त्यस्तै, थप पाँच सय मिटर सडकमाथिको कालोपत्रे सडक असर गरेको छ । नेपालथोक–भकुण्डेबेँसी खण्डको ३२ किलो मिटर लम्बाई सडकमध्ये १६ ठाउँमा गरी करिब चार किलो मिटर लम्बाई सडकको डाइभर्सन रोसी खोलाको बाढीले बगाई पूर्णरूपमा क्षति गरेको छ ।
ती स्थानमा शुन्यबाट मर्मत गर्नुपर्ने अवस्था रहेको छ । उक्त खण्डको सिन्धुलीतर्फ (डिभिजन सडक कार्यालय, खाल्टेको कार्य क्षेत्रभित्र) को क्षतिग्रस्त ५५० मिटर सडक बढीमा चार दिनभित्र डाइभर्सन निर्माण गर्नेगरी सोमबारदेखि दुई वटा मेसिन (एक्साभेटर) लगाई काम सुरु गरेको कार्यालय प्रमुख पारसमणि हमालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष असोज महिनाको बाढीपहिरोपछि क्षतिग्रस्त बनेको उक्त खण्ड मर्मतका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीमार्फत नै अहिले डाइभर्सन निर्माण सुरु गरेको हो । हाम्रो लक्ष्यअनुसार मेसिन पुगेको छैन । अरू मेसिन थप्न लागि रहेका छौं ।’ काभ्रेतर्फ पनि चौकी डाँडाबाट डाईभर्सन निर्माण सुरु भएको जनाइएको छ ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले नेपालथोक–भकुण्डे खण्ड सडकको एक दर्जनभन्दा बढी ठाउँमा सडक बगाई क्षतिग्रस्त बनाएपछि अस्थायी डाइभसर्न बनाई यातायात सञ्चालन गरिएको थियो । एक वर्षपछि असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले उक्त खण्डमा फेरि उस्तै क्षति गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बिपी राजमार्गको कुल लम्बाई बर्दिबासदेखि धुलिखेलसम्म १६० किलो मिटरमध्ये बर्दिबासदेखि नेपालथोकसम्मको ११० किलो मिटर सडक भने सुचारु रहेको छ । छोटो दूरीमा पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बिपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन् ।
नेपालथोक–भकुण्डेबेँसी खण्डमा अहिले नेपालथोक, बालुवा, माम्तीखोला, डालाबेँसी पिप्ले, बोक्सीकुना, चौकी डाँडालगायत एक दर्जनभन्दा बढी ठाउँमा अस्थायी डाईभर्सन सडक बगाएको स्थानीयले बताएका छन् ।
रोसी खोलाको बाढीले गत वर्ष उक्त खण्ड सडकको जहाँ–जहाँ भत्काएर क्षतिग्रस्त बनाएको थियो । अहिले त्यही ठाउँमा निर्माण गरिएको अस्थायी डाइभर्सन सडक पूर्णरूपमा बगाई बढी क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।
बिपी राजमार्ग अवरुद्ध भएसँगै उक्त राजमार्ग हुँदै सञ्चालन हुने यातायातका साधनलाई वैकल्पिक मार्गको रूपमा सिन्धुलीमाढी भएर मदन भण्डारी राजमार्ग प्रयोग गरी हेटौँडा हुँदै काठमाडौँ र खुर्कोट भएर मन्थली चरिकोट हुँदै अरनिको राजमार्ग प्रयोगगरी आवत–जावत गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।