• २१ असोज २०८२, मङ्गलबार

झापामा दुई हजार परिवारलाई राहत सामग्री

blog

एकद्वार प्रणालीबाट राहत सङ्कलन र वितरण सम्बन्धिको छलफलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी जिल्लाको वस्तुस्थितिबारे जानकारी दिँदै ।

बिष्णुप्रसाद पोखरेल

दमक, असोज २१ गते । झापामा बाढीका कारण सबैभन्दा बढी प्रभावित र विस्थापित बनेको झापा गाउँपालिकाका बाढी पीडितलाई खाद्यान्न राहतको आवश्यकता टड्कारो देखिएको भन्दै त्यो जुटाउन सुरु गरिएको छ । 

वर्षा रोकिएपछि अवस्था सामान्यतर्फ उन्मूख भए पनि झण्डै ५ हजार घर परिवारका २५ हजारभन्दा बढि बाढी पीडितलाई खाद्यान्नको अभाव हुने देखिएको बताइएको छ ।

पालिकाको अधिकांश घरहरू डुबानमा पर्दा त्यहाँ रहेको खाद्यान्न र लत्ता कपडा केही पनि बाँकी रहेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आफु प्रकोपको क्षेत्रमा झापामा ४ दशक अघिदेखि काम गर्दै आएको तर यस्तो विपत्ति अहिलेसम्म नदेखेको बताउनुभयो ।

यति धेरैको सङ्ख्यामा घरधुरीहरु डुबान र विस्थापित भएको झापामा पहिलो पटक हो, उहाँले भन्नुभयो । अब यहाँ खाद्यान्न र लत्ताकपडाको अति आवश्यक रहेकाले त्यसको जोह गर्नतर्फ आफूहरू लागेको उहाँले जनाउनुभयो । पानीको बहाव कम भएपछि घरहरू मर्मतसम्भार गरेर फर्कने अवस्था रहे पनि खाद्यान्न भने जुटाउन स्थानीयलाई मुश्किल छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार तत्कालका लागि अहिले कम्तिमा पनि दुई हजारभन्दा बढी परिवारलाई राहत वितरणको आवश्यकता रहेको जनाउनुभयो । राहत एकद्वार प्रणालीबाट पुर्‍याइने जनाइँदै तत्कालै राहत पाउनु पर्नेहरूले पाउने उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय झापाको निगरानीमा एकका लागि एक अभियानले तत्काल राहत उपलब्ध गराउने भएको छ । अभियानका संयोजक महेन्द्र गिरीका अनुसार राहत प्याकेटमा खाद्यान्न तर्फ प्रति परिवार चामल २५ केजी, दाल र नुन दुई–दुई केजी, तेल एक लिटर, आलु पाँच केजी रहेको छ भने आवास व्यवस्थापनका लागि प्रति परिवार दुई थान ब्ल्याङ्केट र दुई थान ओछ्याउने म्याट्रेस उपलब्ध गराइँदैछ ।