• २१ असोज २०८२, मङ्गलबार

भेडेटार रवि-राँके सडक सञ्चालनमा

blog

कोकिला भण्डारी

धनकुटा, असोज २१ गते । शनिबार रातिदेखि परेको अविरल वर्षाले अवरुद्ध भएको भेडेटार रवि-राँके सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

तमोर काेरिडोर सञ्चालनमा आउन समय लाग्ने भएको छ । धनकुटासहित इलाम र पाँचथरलाई जोड्ने भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गत भेडेटारदेखि ओख्रेसम्म सोमबारदेखि नै सञ्चालनमा आएको थियो भने ओख्रेदेखि डाँडाबजार खण्डअन्तर्गत लुम्फाजुङ र बालुवाखानी क्षेत्रमा भएको अवरुद्ध सडक केहीबेर अघि सञ्चालनमा आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

अविरल वर्षापछि आएको पहिरोका कारण भेडेटार–डाँडाबजार सडक खण्डका तीन स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । भेडेटार नजिकैको नाम्जे थुम्कीमा गएको पहिरो सोमबार पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका एसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार सडक खण्डको पहिरो पन्छाउन समय लाग्ने भएका कारण तमोर काेरिडोर सञ्चालनमा आउन समय लाग्ने भएको छ । तमोर काेरिडोर अन्तर्गत चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटारस्थित छरुवा खोलामा आएको भीषण बाढीले निर्माणाधीन पक्की पुलको पिलर बाहेकका सबै संरचना बगाएपछि तमोर काेरिडोरमा सवारी साधनको आवतजावत पूर्णरूपमा ठप्प भएको छ।

सो सडक खण्ड सञ्चालन आउन पनि अझै समय लाग्ने बताइएको छ । यद्यपि सो सडक खण्डमा भएको अवरोध हटाउन भने सुरु भइसकेको छ ।

चौबिसे गाउँपालिका वडा ४ फलामेटार नजिकै छरुवा खोलामा आएको लेदोसहितको बाढीले मेसिनरीसहितको क्रसर बगाएको छ । निर्माणाधीन तमोर काेरिडोर सडक र पक्की पुलका लागि गिट्टी, बालुवा उत्पादन गर्न रौता कन्स्ट्रक्सनले क्रसर सञ्चालन गरेको थियो ।