• २१ असोज २०८२, मङ्गलबार

सिद्धिचरण लोकमार्ग सुचारु

blog

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मि खण्डको लेखानी नजिक चनौटेमा सडकमा खसेको पहिरो पन्छाउँदै कटारी–घुर्मी सडक योजनाका कर्मचारीहरू । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, असोज २१ गते । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको सडकमा खसेको पहिरोले थुपारेको माटो र लेदो पन्छाएर मङ्गलबार बिहानदेखि यातायात सेवा सुचारु गरिएको छ । सिराहा, उदयपुर र ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोकमार्ग अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको थियो । 

अविरल वर्षा सुरु भएसँगै लेखानी माथि चनौटे खोला र बेतिनि भन्ज्याङ्ग नजिकमा खसेको पहिरो लगायत अन्य दर्जन बढी स्थानमा खसेको ढुङ्गा माटो र लेदोका कारण चार दिन देखि यातायात अवरुद्ध हुँदै आएको सो सडक खण्डमा ती सवै अवरोधहरू हटाइए पछि मङ्गलबार बिहानबाट पूर्णरूपमा यातायात सेवा सुचारु गरिएको मिर्चैया कटारी घुर्मी सडक आयोजनाका इन्जिनिएर विरेन्द्रकुमार महतोले बताउनुभयो । 

सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी–बेतिनी–घुर्मी हुँदै ओखलढुङ्गा जोडिएको लोकमार्ग दुई दशकदेखि जिर्ण भएका कारण सामान्य वर्षामा पनि अवरुद्ध हुने गरेको छ । उदयपुर खण्डमा ४६ किलोमिटर र सिराहादेखि घुर्मीसम्म ७२ किलोमिटर दूरीको यो लोकमार्ग २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाले निर्माण गरेको हो । 

उदयपुरको बिकट गाउँपालिका ताप्ली र कटारी नगरपालिकाका पहाडी भेगका ८ वटा वडाहरुको लाइफलाइन बनेको यो लोकमार्गले तराई र माथिल्लो सगरमाथाका हिमाली जिल्लालाई पनि सोझो यातायातले जोडेको छ । उदयपुरको माथिल्लो भेगका उपभोक्ताका लागि कटारी बजारबाट उपभोग्य सामग्री ढुवानी गर्ने तथा गाउँघरमा उत्पादित कृषि उपज कटारी भएर तराई निर्यात गर्ने यो नै मुख्य सडक हो । 

तर विगत दुई दशकदेखि जिर्ण यो सडकको स्तर उन्नतिका लागि धेरै पटक आन्दोलनहरू भए पनि आवश्यक बजेट व्यवस्था नहुदा सडक निर्माणमा असहज हुँदै आएको छ । वर्षैपिच्छे बजेट छुट्याउने आश्वासन दिए पनि सरकारले कार्यान्वयन नगर्दा स्थानीयवासी रुष्ट छन् । सेनाले निर्माण सम्पन्न गरेर सडक विभागलाई सुम्पेको हो । सञ्चालनमा आएको १० वर्ष नबित्दै भत्किन थालेको सडक दीगो र भरपर्दो मर्मत र स्तरोन्नति हुन नसक्दा यात्रु र यातायात व्यवसायी जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

पछिल्लो दुई वर्षदेखि सो लोकमार्गको रेखदेख गर्नका लागि उदयपुरको कटारी बजारमा कटारी–घुर्मी सडक योजना कार्यालय स्थापना गरिएको छ । कटारीमा योजना कार्यालय खुलेपछि सडकको रेखदेख गर्न केही सहज भएपनि बजेट अभावमा सडक स्तरोन्नति गर्न नसक्दा यात्रु मारमा परेको कार्यालयका सुपरभाइजर कुमार प्याकुरेलले बताउनुभयो ।