• २१ असोज २०८२, मङ्गलबार

अलपत्र यात्रुलाई गन्तव्यमा लैजान निःशुल्क यातायात

blog

अलपत्र परेकाहरुका लागि सञ्चालन गरिएको निःशुल्क बस ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असोज २१ गते । चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ । 

इलामको सूर्योदय नगरपालिकाले हिजोदेखि इलामको माईखोलादेखि फिक्कलसम्म अलपत्र यात्रु ओर्सानका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । नगरले करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको बस निःशुल्क सञ्चालन गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । 

सूर्योदयले निःशुल्क बस सेवा सञ्चालन थालेसँगै जिल्ला प्रशासन कार्यालय इलाममा विपत् व्यवस्थापन समितिको बैठकले अन्य स्थानमा पनि निःशुल्क यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार इलाम नगरपालिकाले इलाम बजारदेखि माईखोला (राजदुवाली) माथिसम्म निःशुल्क यातायत सेवा सञ्चालन गरेको छ । 

यस्तै, पूर्वेली यातायात सेवाले इलाम माईखोला मार्गमा अस्थायी रूपमा निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ । सडक सहज रुपमा सञ्चालन नहुन्जेल निःशुल्क यातायात सेवा सञ्चालन गरिने पूर्वेली यातायात सेवाले जानकारी दिएको छ । यस्तै इलामका समाजसेवी रतन अग्रवालले समेत निःशुल्क रुपमा यात्रु ओर्सानका लागि एउटा सवारी उपलब्ध गराउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालयले प्याब्सन लगायतलाई यातायातका साधन उपलब्ध गराउन अनुरोध गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले पर्यटक र यात्रुलाई गन्तव्यसम्म लैजानका लागि निःशुल्क यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । 

इलामको जोरकलशदेखि माईखोलासम्म यातायात सञ्चालन भइरहेको छ । माईखोला माथिपट्टि मेची राजमार्ग पहिरोले बगाएको छ । पहिरोसँगै सडकमा लेदो बगिरहेका कारण पुसमा पूर्ण सुधार आएपछि मात्र मर्मत गर्न सकिने इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जानकारी दिनुभयो । माईखोलासम्म पुगेका यात्रु १५ मिनेट हिंडेर अर्को सवारीमा इलाम पुग्न सक्ने उहाँले जानकारी दिनुभयो । 

इलामदेखि नेपालटारसम्मको सडक सफा गर्ने र पहिरो पन्छाउने काम भइरहेको छ । आज साँझसम्ममा उक्त सडक सुचारु गरी पाँचथरसम्म यातायात सञ्चालन गरिने सहायक प्रजिअ गुरागाईले जानकारी दिनुभयो । 

यसैबिच इलाममा अलपत्र परेका यात्रु र पर्यटकलाई होटल व्यवसायी सङ्घ इलामले निःशुल्क खाने बस्ने व्यवस्था गर्ने भएको छ । सङ्घका अध्यक्ष देवी पौडेलले बेखर्ची, विपन्न र अस्पताल आएकाहरुका लागि सङ्घले निःशुल्क बसोबासको व्यवस्था गरिने जानकारी दिनुभयो ।