बोमलाल गिरी
नवलपुर, असोज २१ गते । नवलपुर सदरमुकाम कावासोती–१, लोकाहा ओरालोमा गुणस्तर मापदण्ड विपरित बनाइएको सडक ठेकेदार कम्पनीले पुनः ढलान गरेको छ ।
गुणस्तर मापदण्ड विपरित ढलान गरेपछि दुई महिनाअघि रकम बुझेर सडक हस्तान्तरण गर्ने बेलामा कम्पनी आफैले ढलान भत्काएको थियो । भत्काएको दुई महिनापछि कम्पनी आफैले यो सडक पुनः ढनाल गरेको कावासोती नगरपालिका–१ का कार्यवाहक अध्यक्ष ओम थापा मगरले जानकारी दिनुभयो ।
एक सय ३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौँको पपुलर कन्स्ट्रक्सन प्रालिले ५० लाख रुपियाँमा ठेक्का लिएको थियो । यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ ।
काम सकेर रकम हस्तान्तरण गर्ने बेलामा प्रयोगशालामा सडकको गुणस्तर परीक्षण गर्दा पूर्णतः असफल भएपछि ढनाल भत्काएर पुनः बनाउनुपर्ने अन्यथा रकम रोक्का गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने चेतावनी दिएपछि कम्पनी फेरि ढलान गर्न सहमत भएको नगरपालिकाको पूर्वाधार विकास शाखाका इन्जिनियर रञ्जित केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गिटी, बालुवा र सिमेन्टको मात्रा उचित रूपमा नमिलाई ढलान गरेकाले सडकले गुणस्तर मापदण्ड पूरा गर्न सकेको थिएन । सडक कात्तिकमा सम्झौता भएर चैत मसान्तभित्र सक्नुपर्ने थियो । तर मापदण्ड पूरा गर्न नसकेपछि सोही कम्पनीलाई सोही रकममा असोज मसान्तसम्मको समय सीमा दिएर निर्माण गर्न भनिएको कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
उहाँले ठेकेदार कम्पनीले धरौटी रकम बुझाएको र कुनै पनि पेस्की रकम नबुझेकाले थप निर्धातिर समयमा काम सम्पन्न गरेको बताउनुभयो ।