• २० असोज २०८२, सोमबार

राजविराज कारागारमा आठ जना कैदीबन्दीले गरे आत्मसमर्पण

blog

कारागारमा आत्मसमर्पण गर्न जाँदै कैदीबन्दीहरु । तस्बिर : गोरखापत्र

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज २० गते । जेनजी आन्दोलनका क्रममा राजविराजस्थित कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीमध्ये आठ जनाले सोमबार आत्मसमर्पण गरेका छन् ।

आन्दोलनको मौका छोपेर २५ दिनअघि सप्तरीको राजविराज र सुनसरीको झुम्का कारागारबाट फरार भएका मध्ये आठ जना कैदीबन्दीले कारागार प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् । एक जना फरार कैदीबन्दीलाई भने प्रहरीले घरबाटै पक्राउ गरेको छ । 

आत्मसमर्पण गर्ने कैदीबन्दीहरुमा राजविराज कारागारबाट फरार भएका सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी ५२ वर्षीय भोलाप्रसाद यादव, महादेवा गाउँपालिका–४ निवासी २४ वर्षीय शत्रुधन मुखिया, डाक्नेश्वरी नगरपालिका–७ निवासी २१ वर्षीय प्रकाश चौधरी, सोही पालिकाको वडा नम्बर–१ बस्ने ५० वर्षीय राजनारायण साह, राजविराज नगरपालिका–१२ का २२ वर्षीय अरुणकुमार यादव र राजगढ गाउँपालिका–१ निवासी ४१ बर्षीय रामानन्द यादव रहेका छन् । 

यस्तै गत भाद्र २५ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३७ वर्षीय पशुपति भन्ने पुष्कर महतो र सोही पालिकाको वडा नम्बर–४ बस्ने ३९ वर्षीय अमरनाथ विश्वासले पनि आत्मसमर्पण गरेको कारागार कार्यालय सप्तरी राजविराजका प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो । 

यस्तै राजविराज कारागारबाट फरार भएका रुपनी गाउँपालिका–२ निवासी २४ वर्षीय कुम्भकर्ण सदालाई सोमबार नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कारागार प्रशासनले यसअघि एक सुचना जारी गर्दै फरार भएका कैदीबन्दीलाई २०८२ असोज २० गते सम्म फर्किनआए कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप सजाय हुने जनाएको थियो । फरार भएको २५ दिनपछि उनीहरु आफै राजविराज कारागार पुगेर कारागार प्रशासन समक्ष गरेका हुन् ।

गत भदौ २५ गते कारागारमा तोडफोड र आगजनी गर्दै २०५ कैदीबन्दी फरार भएका थिए । जसअध्ये अहिले सम्म ११३ जना कैदीबन्दीलाई फिर्ता ल्याइ सकिएको छ ।

कारागारबाट फरार भएका मध्ये ९२ जना अझै सम्पर्कमा नआएको र खोजतलाश कार्य भईरहेको कारागार प्रशासनले जनाएको छ ।