राममणि दाहाल
मकवानपुर, असोज २० गते । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण शनिबारबाट अवरुद्ध बनेको मकवानपुर हुँदै काठमाडौं जाने छोटो दूरीका मार्गहरु सुचारु भएको छ। कुलेखानी–सिस्नेरी दक्षिणकाली–काठमाडौं सडक सोमबारबाट सुचारु भएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा ३ सिस्नेरी बजारस्थित कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्डको डोढारे खोलामा पानीको बहाव बढ्न गई उक्त सडक अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने भैंसे–कुलेखानी–फाखेल–फर्पिङ सडकसहित छोटो दूरीको मार्ग सुचारु रहेको जनाएको छ । कुलेखानी–सिस्नेरी दक्षिणकाली–काठमाडौँ सडक सञ्चालनमा आएसँगै मकवानपुर भएर काठमाडौँ जाने छोटो दूरीका सबै मार्ग सुचारु भएको छ ।
हेटौँडाबाट भैंसे हुँदै काठमाडाैं जाने सडक अन्तर्गत त्रिभुवन राजपथ सुचारु छ । यस्तै कान्ति लोकपथ हुँदै ललितपुर जाने सडकमा समेत सवारी साधन आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले कान्ति लोकपथ पहिरोका कारण शनिबारबाट अवरुद्ध रहेको जानकारी दिनुभयो । मकवानपुरको भीमफेदी गाउँपालिका वडा ८ वगुवा खोला नजिक सडक माथिबाट ढुङगा,माटो लेदोसहितको पहिरो खसी कान्ति लोकपथ अवरुद्ध बनेको हो । कान्ति लोकपथको बकैया गाउँपालिका वडा ११ घट्टेपाखा र सिमात घुम्तीमा पहिरो आएर उक्त सडक खण्डसमेत अवरुद्ध रहेको छ।
हेटौँडाबाट भैंसे हुँदै काठमाडौं जाने सडक अन्तर्गत त्रिभुवन राजपथ, चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग), महालक्ष्मी–चखेल–मातातीर्थ सडक, कुलेखानी–फाखेल–फर्पिङ सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक छन् ।