• २१ असोज २०८२, मङ्गलबार

सुदूरपश्चिममा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, असोज २० गते । सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसोदेखि मङ्गलबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको हो। 

बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुनी वायु न्यूनचापीय रेखा नेपालबाट बाहिरिसकेकाले केही स्थानमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले बताउनुभयो । अहिले कञ्चनपुर, कैलालीमा सामान्य बदली भएको छ । 

पूर्ण रूपले मनसुन बाहिरिनसकेको र स्थानीय वायुको प्रभावले कञ्चनपुर र कैलालीका केही स्थानमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने उहाँले बताउनुभयो । सुदूरपश्चिममा ठुलो वर्षाको सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।