• २१ असोज २०८२, मङ्गलबार

इलाम र झापामा उद्धार कार्य जारी, १०७ जना सुरक्षित स्थानमा सारिए

blog

इलाम र झापामा उद्धार कार्यमा जुटेको सुरक्षा निकाय । तस्बिर : नेपाली सेना

काठमाडौँ, असोज २० गते । विगत दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भइरहेका बेला उद्धार कार्य निरन्तर भइरहेको छ। 

असोज २० गते सोमबार विहान ८ बजेसम्मको तथ्याङ्क अनुसार नेपाली सेनाले इलाम र झापाका विभिन्न क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारेको छ।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–४ माबु क्षेत्रमा पहिरोमा परेर घाइते भएका चार जनाको उद्धार गरिएको छ। तीमध्ये एक जना पुरुष र तीन जना महिला (जसमध्ये एक बालिकासमेत) घाइते भएका हुन्। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई झापास्थित अस्पतालमा लगिएको नेपाली सेनाले जनाएको छ।


यस्तै, झापा गाउँपालिका–१ स्थित मिलनबस्ती क्षेत्रमा पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा रातभर उद्धार कार्य जारी रह्यो। असोज १९ गते राति मात्र मोटरबोटमार्फत ४८ जना, डुङ्गाबाट ३१ जना र पैदलमार्गबाट १२ जना गरी ९१ जनाको उद्धार गरिएको छ।

हालसम्म हेलिकोप्टर र स्थलमार्ग दुवै माध्यमबाट गरी कुल १०७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।

सुरक्षा निकायहरूले अझै पनि प्रभावित क्षेत्रहरूमा उद्धार, राहत र राहत सामग्री वितरणका कार्यलाई निरन्तरता दिइरहेका छन्।