हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज २० गते । दसैं तिहारको विदामा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) मा घुम्न जाने स्वदेशी पर्यटकको भिड लागेको छ ।
अनुकुल मौसम, सहज सडक सञ्जालका कारण पोखरा–बेनी–जोमसोम हुँदै सडकमार्गबाट उत्तरीचीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाकामा ठुलो संख्यामा नेपाली पुगेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाको आधारमा रोकिएका पर्यटक धमाधम मुस्ताङ प्रवेश गर्न थालेपछि अहिले कोरला नाकासम्म चहलपहल बढेको हो ।
लोमान्थाङ –२, न्हेचुङमा रहेका शसस्त्र प्रहरी बोर्डर आउटपोष्टको तथ्याङ्क अनुसार आइतबार मात्र ११ सय २९ जना पुरूष, ५ सय ३२ जना महिला गरी १६ सय ६१ जना कोरला नाकामा पुगेर त्यहाँको दशगजा २४ नम्बर सीमास्तम्भसम्म पुगेर फर्किएका छन् ।
नेपाली पर्यटक स्कोरपियो, जिप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्ममा पुगेका नेपालीको चहलपहल शनिबारदेखि बढ्न थालेको छ । शनिबार मात्रै पुरूष र महिला गरी ५ सय ३२ जना कोरला नाकामा पुगेका थिए । कोरला नाकामा परिवार तथा साथीहरू पुग्नुभएका पर्वतको जलजला गाउँपालिका –३, पर्वतबेनीका ब्यवसायी हेमन्त बानियाँले नेपालीहरुको संख्या धेरै रहेको बताउनुभयो ।
बानियाँ भन्नुहुन्छ, ‘‘उपल्लो मुस्ताङ जाने सबै पर्यटक कोरलासम्म नै पुग्छन्, सडक राम्रो भएकाले साँझसम्म जोमसोमसम्म फर्किन सकिन्छ ।’’ कोरला नाकामा पुगेर नेपाली झण्डा फहराएर फोटो खिच्ने, चीनतर्फ निर्मित भौतिक संरचनाको अवलोकन, आसपासका क्षेत्रमा देखिएको मनोरम दृष्यहरूको अवलोकन तथा आसपासको चरन क्षेत्रमा भेटिने बन्यजन्तु पर्यटकको मुख्य आर्कषण रहेको छ ।
कोरला नाकामा पुग्ने अधिकांश एक रात लोमान्थाङको होटलमा बास बसेर फर्किने गरेकाले समेत यस समयमा आन्तरिक पर्यटकले होटल भरीभराउ हुन्छ । समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकामा पुग्दा शरीरमा अक्सिजनको कमी हुने भएकाले सचेत हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।
माथिल्लो मुस्ताङमा पुग्ने पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्काल आफुँ भएकोभन्दा तल्लो क्षेत्रमा फर्किएर स्वास्थ्य संस्थामा जान नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीले अनुरोध गर्नेगरेका छन् ।
बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडकमा अहिले सहज यात्रा गर्न सकिन्छ । कोरला नाका करिब ६० प्रतिशत नेपाली पर्यटकमा दसैं तिहारको विदामा पुग्छन् ।
आइतबार मुस्ताङमा १२ सय ४७ सवारीसाधन प्रवेश गरेकोमा लोमान्थाङमा ३ सय २० सवारीसाधन प्रवेश गरेको थियो । आइतबार १ सय ५६ सवारीसाधन बाहिरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।