• २३ वैशाख २०८३, बुधबार

घुमाउने पुल अधुरै पहिरोको जोखिममा यात्रु

blog

तनहुँ समाचारदाता 

तनहुँ, असोज १२ गते  । आँबुखैरेनी–भरतपुर जोड्ने ११ वर्षअघि निर्माण थालिएको ‘घुमाउने पुल’ अझैँ अधुरो हुँदा यात्रु फेरि पहिरोमा अलपत्र पर्न बाध्य भएका छन् । 

चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा मङ्गलबार दिउँसो ठुलो सुक्खा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिनुका साथै यात्रुले घन्टौँसम्म बाटोमै सास्ती खेप्नु प-यो । 

व्यास नगरपालिका–१४ निवासी हर्कबहादुर थापा (एचबी मगर) ले यात्रुको पीडालाई बेवास्ता गर्नु मानवीय संवेदनशीलताको अपमान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ससाना बालबालिकादेखि बिरामीसम्म घन्टौँ बाटोमै रोकिँदा कष्ट भोग्नु पर्छ । घुमाउने पुल समयमै बनेको भए यस्तो पीडा दोहोरिँदैनथ्यो ।”

 सडक विभाग र सुरक्षाकर्मीले पहिरो पन्छाउने प्रयास गरिरहेका भए पनि निरन्तर खसिरहेकाले सडक भासिने जोखिमसमेत बढेको छ । यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिए पनि ती बाटो लामो र खर्चिलो भएकाले सबैका लागि सहज छैन । 

बुद्धसिंहमार्ग हुँदै घुमाउने पुल बनेमा नारायणगढ पुग्ने दुरी ३० किलोमिटर छोटिने, पोखरा र दमौलीतर्फबाट पनि २३ किलोमिटर दुरी घट्ने प्राविधिक तथ्याङ्क छ । अहिलेसम्म आधा काम मात्र सकिएको छ । सर्वसाधारण पटक पटक पहिरोमै फस्ने गरेका छन् ।

 २०७१ असारमा नौ करोड ५६ लाख रुपियाँ लागतमा सम्झौता गरेर थालिएको पुल निर्माण अहिलेसम्म ४५ प्रतिशत मात्र सम्पन्न भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको बाढीले पिल्लर क्षतिग्रस्त भएपछि डिजाइन नै फेरबदल गर्नुपर्ने देखिएकाले काम रोकिएको हो । 

बुद्धसिंहमार्ग सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जामगरले पटक पटक आन्दोलन, धर्ना र ज्ञापनपत्र दिइए पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आव्रmोश पोख्नुभयो । उहाँले चेतावनी दिँदै भन्नुभयो, “अब पनि पुल पूरा भएन भने बासिन्दाले पार्टीभन्दा माथि उठेर नेताविरुद्ध खबरदारी गर्ने अवस्था आउँछ ।”

आँबुखैरेनी–५ का वडाध्यक्ष दिलीप गुरुङका अनुसार पुल बनेपछि नारायणगढसम्मको यात्रा छोटिनुका साथै इन्धनमा ठुलो बचत हुने छ । सडकसँगै मानिसको जीवन नै जोखिममा परेको वर्तमान अवस्थामा घुमाउने पुललाई तत्काल प्राथमिकतामा राखी निर्माण पूरा गर्नुपर्ने आवाज स्थानीयवासीबिच चर्किंदो छ ।