लमजुङ समाचारदाता
लमजुङ, असोज १२ गते । लमजुङको मध्यनेपाल–१०, हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दसैँको रौनक मात्र बढाएको छैन, आन्तरिक पर्यटकसमेत आकर्षित गरेको छ । रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिस आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको स्थानीयले बताएका छन् । मध्यनेपाल–१०, हाँडीखोला बर्धान
गाउँमा स्थनीयले चन्दा उठाएर २४ पिर्के र आठ पिर्केको रोटेपिङ बनाएका छन् । पिङ बनाउन दुई लाख लागेको स्थानीयले बताएका छन् ।
“आजभोली गाउँघरमा पिङ थाप्नै छोडिएको छ । त्यसमाथि पनि काठको २४ पिर्के पिङ त कतै पनि राखिएको छैन,” हाँडीखोला बर्धान गाउँका काजी दुराले भन्नुभयो, “पिङ खेल्न र हेर्न टाढा टाढाबाट पनि आइरहनुभएको छ ।” पिङले संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्धनमा समेत टेवा पुगेकोमा स्थानीय खुसी भएका छन् ।
बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दुरा संस्कृति संरक्षणका लागि सङ्ग्रहालयसमेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको सङ्ग्रहालय हेर्नसमेत पर्यटक आउने गरेका छन् । मध्यनेपाल नगरपालिकासहित सुन्दरबजार, कास्की र तनहुँका छिमेकी गाउँबाटसमेत युवकयुवतीहरू पिङ खेल्नका लागि हाँडीखोला पुग्ने गरेका छन् । पिङ खेल्न २५÷३० जनाको टोली बनाएर आउने गरेको स्थानीयले बताएका छन् ।
कम सङ्ख्यामा रहेको दुरा समुदायले आफ्नो कला संस्कृति संरक्षणसँगै पर्यटक आकर्षण गर्न विभिन्न गतिविधि पनि सञ्चालन गर्दै आएका छन् । पर्यटक राख्नका लागि गाउँमा होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ ।