मकवानपुर समाचारदाता
मकवानपुर, असोज १२ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न कांग्रेसको साथ सहयोग लिएर जानुपर्ने बताउनुभएको छ ।
महामन्त्री शर्माले कांग्रेसभित्र रूपान्तरण गरेर अगाडि बढ्ने बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन सरकारलाई सहयोग रहने बताउनुभएको हो । भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट पुगेको क्षतिको निरीक्षण र कार्यकर्तासँग संवाद गर्न उहाँ शनिबार हेटौँडा आइपुग्नुभएको हो । सो अवसरमा सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले घाइते अवस्थामा पुगेको संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचनमा सहभागिता आवश्यक भएको बताउनुभयो ।
“प्रतिनिधि सभा विघटन भइसकेपछि पुनस्र्थापनाको बाटोमा जाने कतिपयको मत छ तर हामी कतिपय अब निर्वाचनकै बाटोमा जाउँ र यो पद्धतिलाई ट्र्याकमा ल्याऔँ भन्नेमा पनि छौँ,” उहाँले भन्नुभयो, “सबै निकायलाई यथावस्थामा लैजाने भनेको निर्वाचनको माध्यमबाट नै हो । त्यसैले पहिला फागुन २१ मा निर्वाचन हुन सक्ने अवस्था बनाउने गरी जानु पर्छ भन्ने मत छ । यसबारे केन्द्रीय समितिमा छलफल भएर निर्णय हुन्छ ।”
कांग्रेसभित्र महाधिवेशन अहिले गर्ने कि पछि गर्ने, विशेष अधिवेशन गर्ने कि नगर्ने भन्ने फरक फरक मत रहेको छ, चाँडै केन्द्रीय कार्यसमितिको बैठक बसेर साझा धारणा बनाएर जाने महामन्त्री शर्माले स्पष्ट पार्नुभयो । भदौ २३ र २४ को घटना अनपेक्षित हो र यसले कांग्रेसलाई पनि परिवर्तित हुन सन्देश दिएको उहाँको भनाइ छ । घटनाको निष्पक्ष छानबिन गरेर जो दोषी छ, उसलाई कारबाही गरेर जानु पर्छ । कारबाहीप्रति समर्थन र साथ रहन्छ भन्दै उहाँले भन्नुभयो, “२४ गतेका दिन जुन तोडफोड र आगजनी भएको छ, त्यो जेनजीकै भावना थियो त ? त्यो त बिलकुल जेनजीको भावना थिएन ।” उहाँले जेनजीका नाममा अरू जो छिरे तिनलाई सर्लक्क पहिचान गरेर कारबाही गर्नु सरकारको दायित्व हुन्छ भन्दै सार्वजनिक र निजी संरचनामा तोडफोड गर्नेलाई कारबाही गरियोस् भनेर जेनजीले नै बोल्नुपर्ने बताउनुभयो ।
कांग्रेस महामन्त्री शर्माले जेनजीको प्रदर्शनका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको निरीक्षणका क्रममा शनिबार हेटौँडामा कांग्रेस मकवानपुरको पार्टी कार्यालय, कांग्रेसको बागमती प्रदेश कार्यालय, बागमती प्रदेश सभा भवन, हेटौँडा उपमहानगरपालिका कार्यालयको निरीक्षणसँगै वर्तमान अवस्थाबारे कांग्रेसका कार्यकर्तासँग छलफल गर्नुभएको थियो । सो अवसरमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आन्दोलनका क्रममा भएको क्षति र पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।